विक्कीसहित चारजनालाई जन्मकैद

तुलसीपुर
१८ मङ्सिर / दुई बर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरी निवासी रामबहादुर वलीलाई हत्या गरेको अभियोग लागेका चार जनालाई दाङ देउखुरी जिल्ला अदालतले जन्मकैद फैसला गरेको छ ।

न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले शनिबार विवेकसिंह ठकुरी (विक्की), सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।


उनीहरुमाथि २०७६ साल असार २८ गते उरहरीमा खुकुरी प्रहार गरि केसीको हत्या गरेको अभियोग लागेको थियो । सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ बर्ष कैद सजाय सुनाइएको छ ।

विक्कीले यस अघि पनि गोली प्रहार गरि एक ब्यक्तीको हत्या गरेका थिए । उनले २०६९ मंसिर ३० गते दाङको मोतिपुरका जितबहादुर चौधरीमािथ गोली प्रहार गरि हत्या गरेपनि त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सुधारगृह पठाएको थियो ।