श्रीमणी आचार्यको शालिक अनावरण असार ८ गते

बसन्त परियार,
तुलसीपुर, ६ असार ।
स्वर्गीय श्रीमणी आचार्यको शालिक अनावरण कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको छ । शैक्षिक तथा बाम आन्दोलनका अथक योद्धा आचार्यको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडास्थित बन्न थालेको श्रीमणी पार्कमा शालिक अनावरण गरिदै छ ।

यहि असार ८ गते विहान ७ बजे कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको तयारी स्वरुप उपस्थितीको लागि निमन्त्रणा पत्र बाड्ने काम अन्तीम चरणमा पुगेको श्रीमणी आचार्य शालिक निर्माण उपभोक्ता समितीका सचिव हरी प्रसाद वलीले जानकारी दिए ।

शालिक अनाबरण कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल,कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी,माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेश सभाका सदस्य धन बहादुर मास्की लगायतको सहभागिता रहने छ ।


शालिक अनावरण कार्यक्रममा झण्डै ४ हजारको सहभागिता हुने जनाइएको छ । अहिले शालिक राख्ने काम पनि सकिएको छ भने कार्यक्रम स्थलमा सरसफाई लगायतका कामहरु सकिएको छ ।

यसैविच श्रीमणी आचार्य शालिक निर्माण समितीका अध्यक्ष घमण्ड बहादुर मल्ल र सचिव हरी प्रसाद वलीले उपस्थितीको लागि सबैमा अनुरोध गरेका छन ।

शालिक राखिएको स्थानलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गरिने वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतले बताएका छन । श्रीमणी पार्कका रुपमा विकास तथा विस्तार गरि आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरि काम गरिने वडाध्यक्ष रावतले जानकारी दिए । यसका लागि केन्द्र सरकारबाट १ करोड ५३ लाखको बजेट विनियोजन भएको वडाध्यक्ष रावतले बताए ।