
दाङ, ४ असोज ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका दाङका बाबु-छोराको तीन साताभन्दा बढी समय बितिसक्दा पनि कुनै अत्तोपत्तो नलागेपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँ निवासी गोपीलाल रोका र उनका जेठो छोरा लालबहादुर रोकाको आइतबार बिहान ९ बजे शीतलपुर बबई घाटमा हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिएको वडाध्यक्ष मोहन पौडेलले बताउनुभयो ।
शोकमा रोका परिवार रोजगारीको सिलसिलामा रसुवा पुगेका बेला बाढीको चपेटामा परेर श्रीमान् गोपीलाल र जेठो छोरा लालबहादुर सम्पर्कविहीन भएपछि रोका परिवार गहिरो शोकमा परेको छ। पीडित कमला रोकाका अनुसार बाढीपछि उनका श्रीमान् र जेठो छोरा मात्र नभई दुई जना भान्जा र दिदीका कान्छो छोरासमेत बेपत्ता रहेका छन्।
दाङका ५४ जना अझै बेपत्ता जिल्ला प्रशासन कार्यालय दाङले दिएको जानकारीअनुसार भोटेकोशी बाढीमा परेर दाङ जिल्लाका मात्रै ५४ जना नागरिक अझैसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन्। बाढीमा हराएकाहरूको लामो समयसम्म खोजी गर्दा पनि स्थिति अज्ञात रहेपछि केही पीडित परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका हुन्।



लाइभदाङ । ४ आश्विन २०८३, आईतवार २१:४९ बजे