रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन विजयी

रोल्पा, ८ मंसिर ।
प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुन ‘अनन्त’ फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव पुन ४१ हजार ७१४ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरेका छन् । पुन र बुढाबीच २५ हजार २२९ मतको फराकिलो अन्तर छ ।

त्यस्तै राप्रपाका लीला रावलले २ हजार ५५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ८०३ र नेपाल मजदुर किसान पार्टीका नातिभाइ ह्योम्बाले १५२ मत प्राप्त गरेका छन् । रोल्पामा १ लाख ४५ हजार ४७१ मतदाता रहेकोमा ६७ हजार २१ अर्थात ४६.७ प्रतिशत मतमात्र खसेको थियो । जसमा ६१ हजार ७१० मत सदर भएको थियो भने ५ हजार ३११ मत बदर भएको मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।

रोल्पामा २०६४ यताका सबै चुनावमा माओवादी उम्मेदवार विजयी हुँदै आएका छन् । पहिलो संविधानसभा चुनावमा ललितपुर–१ बाट विजयी वर्षमान पुन २०७० मा मोरङ–९ बाट पराजित भएका थिए । त्यसपछि २०७४ मा रोल्पाबाट विजयी पुन रोल्पाबाट दोस्रोपटक विजयी भएका छन् ।

६४ यता माओवादीकै बर्चश्व
नेकपा माओवादी शान्तिप्रक्रियामा आएसँगै रोल्पामा माओवादीका लागि फलिफाप हुँदै आएको छ । संविधानसभा सदस्य निर्वाचन २०६४ मा रोल्पा क्षेत्र नं. १ बाट जयपुरी घर्ती विजयी भएकी थिइन् । जम्मा ७१ हजार ५०४ मतदाता रहेको यहाँ जयपुरीले २६ हजार ५०५ र निकटम प्रतिष्पर्धी कांग्रेसका माधवप्रसाद आचार्यले ४ हजार ९४६ मत प्राप्त गरेकी थिइन् भने त्यसबेला राप्रपाका अमरबहादुर थापाको २ हजार ५०६ मत र एमालेका पृथ्वीप्रसाद रोकाको २ हजार १७० मत प्राप्त गरेका थिए ।


त्यस्तै क्षेत्र नं. २ मा नेकपा माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए । जम्मा ८२ हजार ४६२ मतमध्ये दाहालले ३४ हजार २२०, एमालेका शान्तकुमार वलीले ६ हजार २९ र कांग्रेसकी भीमकुमारी बुढामगरले ४ हजार ८८८ मत प्राप्त गरेको देखिन्छ । दुई ठाउँबाट निर्वाचित पुष्पकमल दाहालले रोल्पा–२ छोडेपछि उपनिर्वाचन भएको थियो । जसमा माओवादीका सन्तोषकुमार बुढा निर्वाचित भएका थिए । बुढाले १९ हजार ९३३ मत प्राप्त गरेका थिए भने एमालेका हरिप्रसाद घर्तीले ६ हजार १३२ र कांग्रेसका गंगाराम डाँगीले ४ हजार ७९१ मत प्राप्त गरेको देखिन्छ ।

वि.सं. २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट माओवादीका कृष्णबहादुर महरा विजयी भएका थिए । ४१ हजार ९०२ मतदाता संख्या रहेको क्षेत्र नं. १ मा महराले ११ हजार ४०७ मत प्राप्त गरेका थिए भने कांग्रेसका लेखनाथ आचार्यले ८ हजार ४०९, राप्रपाका बालाराम घर्तीमगरले ३ हजार १५० र एमालेका हितबहादुर रोकाले १ हजार ४७८ मत ल्याएको देखिन्छ । यता ५२ हजार ५५७ मतदाता संख्या रहेको क्षेत्र नं. २ मा १४ हजार ९६४ मत ल्याएर माओवादीकै ओनसरी घर्तीमगर विजयी भएकी थिइन् । यहाँ एमालेका कुमार दशौदीले ९ हजार ३७२ र कांग्रेसकी भीमकुमारी बुढाले ८ हजार २२६ मत पाएको देखिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रोल्पाबाट जम्मा खसेको ६५ हजार २९६ मतमध्ये माओवादीका वर्षमान पुनले ४२ हजार ८४ मत ल्याएर विजयी भएका थिए । उनका निकटम प्रतिष्पर्धी कांग्रेसका अमरसिंह पुनले २० हजार ३३७ मत प्राप्त गरेका थिए । प्रदेशसभा (क) मा माओवादीका कुलप्रसाद केसी १८ हजार ५१२ मत प्राप्त गरी विजयी भएका थिए । कुल मतदाता संख्या ३१ हजार ४८ रहेकोमा कांग्रेसका शेरबहादुर महराले १० हजार ४०१ मत प्राप्त गरेको देखिन्छ । प्रदेशसभा (ख) मा माओवादीका दिपेन्द्र कुमार पुन २४ हजार ४९० मतका साथ विजयी भएका थिए । यहाँ कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९६९ प्राप्त गरेका थिए ।

यसपटक रोल्पा प्रदेशसभा (क)मा माओवादीका जोखबहादुर महरा विजयी भएका छन् भने प्रदेशसभा (ख)मा गठबन्धनविरुद्ध स्वतन्त्र उठेका दिपेन्द्र कुमार पुनले जित हासिल गरेका छन् ।