बाढी प्रभावित बालबालिकालाई सहिद स्मृतिमा आवासीय शिक्षा दिन प्रअको खुला पत्र

रसुवा, ०५ असोज ।
रसुवा-भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाको निरन्तर र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष खुला पत्रमार्फत विशेष आग्रह गरिएको छ। बाढीका कारण सयौँ बालबालिका घरबारविहीन, विस्थापित र अभिभावकविहीन बनेको तथा उनीहरूको पठनपाठन अवरुद्ध भई शैक्षिक भविष्य अन्योलमा परेको भन्दै दाङस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले मन्त्रीलाई सम्बोधन गर्दै यो प्रस्ताव अघि सारेका हुन् । विपद्का बेला बालबालिकालाई तत्काल दिइने राहत मात्र पर्याप्त नहुने भएकाले उनीहरूलाई सुरक्षित आवास, पौष्टिक आहार, स्वास्थ्योपचार, मनोसामाजिक सहयोग र निरन्तर गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने आवश्यकता पत्रमा औँल्याइएको छ।

यस संकटको समाधानका लागि नेपालमा हाल सञ्चालनमा रहेका पाँचवटा सहिद स्मृति आवासीय माध्यमिक विद्यालयहरूलाई विशेष जिम्मेवारी र आवश्यक थप जनशक्ति तथा बजेट उपलब्ध गराएर परिचालन गर्न सकिने बताए । प्रस्तावित योजनालाई तत्काल तथ्याङ्क सङ्कलन तथा क्षमता मूल्याङ्कन, प्राथमिकताका आधारमा बालबालिका छनोट, आवासीय शिक्षा सञ्चालन, र अनुगमन तथा पारिवारिक पुनर्मिलन गरी चार चरणमा कार्यान्वयन गर्न सकिने उल्लेख छ। यसका साथै, बालबालिकाको सिकाइ स्तर मूल्याङ्कन गरी पुनःसिकाइ र पूरक कक्षा सञ्चालन गर्ने, पूर्व विद्यालयहरूसँग शैक्षिक अभिलेख आदानप्रदान गर्ने, र सम्भावित शोषण वा विभेदबाट जोगाउँदै सुरक्षित पारिवारिक पुनर्मिलन वा दीर्घकालीन पुनःस्थापना गर्ने विषय पत्रमा समेटिएको छ।


नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा स्थापित गरेकाले प्राकृतिक विपद् वा आर्थिक विपन्नताका कारण कुनै पनि बालबालिका शिक्षा र संरक्षणबाट वञ्चित हुन नहुने दृष्टिकोण प्रस्तुत गरिएको छ। प्रधानाध्यापक पौडेलले मन्त्रीसमक्ष प्रभावित बालबालिकाको अवस्था पहिचान गर्न तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न, विद्यालयहरूको स्थलगत मूल्याङ्कन गरी थप शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी र मनोसामाजिक परामर्शदाता उपलब्ध गराउन तथा छुट्टै आर्थिक स्रोतको व्यवस्था गर्न प्रअ पौडेलले आग्रह गरेका छन् । यो कार्यक्रमले विपद् प्रभावित बालबालिकाको शैक्षिक भविष्य सुरक्षित गर्नुका साथै राज्यको बाल संरक्षण र शिक्षा प्रणालीबीचको समन्वयलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।