राप्तीमा मंसिर १० देखि राष्ट्रपति रनिङ शिल्ड

मसुरिया,५ असोज ।
दाङको राप्ती गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंसिर १० देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ।

सोमबार गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा बसेको सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले प्रतियोगिताको मिति तय गरेको हो।

यसअघि शैक्षिक पात्रोमा असोज २१ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका थियो। तर, सोही समयमा संस्थागत विद्यालयका विद्यार्थीको परीक्षा परेकाले मिति सारिएको गाउँपालिकाले जनाएको छ।


गत वर्षको विजेता विद्यालय राप्ती–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयले यस वर्षको प्रतियोगिता आयोजना गर्नेछ।

बैठकमा सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाबीच त्रिपक्षीय कार्यसम्पादन करार गर्ने तथा सामाजिक लेखापरीक्षणमा लाग्ने खर्चमा एकरूपता ल्याउने विषयमा समेत छलफल भएको थियो।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा नम्बर २ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक पहलवान चौधरी,सहायक पशु विकास अधिकृत शेर बहादुर हमाललगायत प्रधानाध्यापकहरूको उपस्थिति थियो। बैठकको सहजीकरण शिक्षा शाखा प्रमुख देवी मल्लले गर्नुभएको थियो।