पर्खालभित्र परिवर्तनको सुरुवात : तुलसीपुर कारागारमा ६ सय पुस्तकको पुस्तकालय

शरद रेग्मी
तुलसीपुर, ०४ असोज ।
कारागारको चार पर्खालभित्र अब कैद मात्र होइन, पढाइ र परिवर्तनको अवसर पनि थपिएको छ।

दाङको तुलसीपुर कारागारको महिला सेलमा ६ सय थान पुस्तकसहित पुस्तकालय स्थापना गरिएको छ। करिब ८ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको पुस्तकालयमा कानुन, धर्म, संस्कृति, उद्यम, जीवनशैली, प्रेरणादायी साहित्य, खानपान, योग–ध्यानलगायत विभिन्न विधाका पुस्तक राखिएका छन्।

नेशनल प्रेस क्लब अफ नेपाल र नेपाल वान एचडीको संयुक्त पहल तथा जिल्ला प्रशासन कार्यालय, दाङ र तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा पुस्तकालय स्थापना गरिएको हो।

नेशनल प्रेस क्लब अफ नेपालकी अध्यक्ष मोनिका सिंहले कारागारभित्र रहेका महिलालाई ज्ञान, मनोरञ्जन र आत्मचिन्तनको अवसर दिने उद्देश्यले ‘पर्खालभित्र परिवर्तनको सुरुवात’ अभियान थालिएको बताइन्।

“आफू जन्मेको ठाउँबाट यो एउटा सुरुवात गरेको हो। यसले प्रभावकारी छाप छाड्छ भन्ने अपेक्षा छ,” सिंहले भनिन्।

पुस्तकालयमा नेपालीसँगै अंग्रेजी भाषाका पुस्तक पनि छन्। महिला सेलमा रहेका चार बालबालिकाका लागि बाल पुस्तक तथा कापीलगायत सामग्रीसमेत उपलब्ध गराइएको छ।


तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले समाज रूपान्तरणमा पुस्तकको महत्वपूर्ण भूमिका रहेको बताए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले कारागारलाई सुधार तथा सिकाइको केन्द्रमा रूपान्तरण गर्न पुस्तकालयले सहयोग पुग्ने बताए।

कारागार प्रशासन प्रमुख गिरबहादुर सेजुवाल तथा स्वास्थ्यकर्मी द्रोण ओलीले पुस्तकालय स्थापना हुनु स्वागतयोग्य कार्य भएको बताए।

यसअघि तुलसीपुर कारागारका कैदीबन्दीहरूले रसुवाका बाढी प्रभावितका लागि ६० हजार २ सय रुपैयाँ सहयोग गरेका थिए।

चार पर्खालभित्र सुरु भएको यो पुस्तकालय केवल किताब राख्ने ठाउँ होइन—परिवर्तनको सम्भावना खोज्ने एउटा प्रयास हो।