न्याय अनुहार हेरेर होइन,कानुन हेरेर दिनुपर्छ : नगर प्रमुख खड्का

तुलसीपुर, ३० जेठ ।
तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले उपमहानगरले गर्ने कार्यसम्पादन छिटोछरितो हुनुपर्ने बताउनुभएको छ ।

न्यायिक समितिले तामेलदारकालागि गरेको म्याद तामेली सम्बन्धी क्षमता अभिवृद्धि तालिम समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले न्यायिक समितिले न्याय सम्पादन छिटोछरितोका साथै न्यायसंगत हुनुपर्ने बताउनुभयो । ‘हामीले दिने न्याय व्यक्तिको अनुहार हेरेर होइन,कानुन हेरेर हो ।’ प्रमुख खड्काले भन्नुभयो ‘पीडितले न्याय पाएको र पीडकले गल्ती गरेको महशुस हुनेगरी न्याय सम्पादन गर्नुपर्छ । न्याय सम्पादनमा ढिलाई गर्नु अपराध भएको भन्दै नगर प्रमुख खड्काले त्यसतर्फ सजक हुन न्यायिक समितिलाई आग्रह गर्नुभयो ।


नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक स्यानी चौधरीले तुलसीपुर उपमहानगरले गर्ने न्याय सम्पादन पीडित मैत्री रहेको बताउनुभयो ।

न्यायिक समितिमा आउने पीडित न्याय पाएको महशुस गरेर मात्रै जाने गरेको भन्दै उपप्रमुख चौधरीले आफूहरुले निष्पक्ष रुपमा न्याय सम्पादन गर्दै आएको बताउभयो । तालिममा न्यायिक समितिमा कार्यरत तामेलदार सहभागी थिए ।