अस्थायी पुलबाट आवतजावत

दाङ,२४ चैत ।
दाङको बबई गाउँपालिका वडा नं.१ र ५ जोड्ने पुरन्धारमा पुल नहुँदा अस्थायी पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । सडकबीचमा पर्ने उक्त बबई नदीमा पुल नहुँदा अस्थायी पुलबाट गाडी वारपार गराउनु पर्ने बाध्यता रहेको छ । बर्षादमा भने बाढीले त्यो अस्थायी पुल पनि बगाउने गर्छ । जसले गर्दा सडकको सम्पर्क समेत विच्छेद हुने गरेको स्थानीय विशाल बंशी मगरले बताए ।“हिउँद र जेठमासमा यही अस्थायी पुलबाट काम चलाउँछौं”,उनले भने“बर्षाद लाग्ने वित्तिकै अस्थायी पुल सबै बगाउँछ, अनि सवारी आवतजावत गर्न समस्या हुन्छ ।”

बबई नदी अन्तर्गत उक्त स्थानमा पुल नहुँदा बबई १ को मलै,जिला, सिमलकुनाका नागरिकलाई गाउँपालिकाको केन्द्र हापुरे आउने समस्या हुने गर्दछ । पैदल यात्रा गरेर आउने गरेको भएपनि गाडीमा आवतजावत पुरै ठप्प हुने गरेको स्थानीय रेशम बहादुर थापाले बताए । उनका अनुसार अहिले ह्युमपाइप राखेर अस्थायी पुल बनाएपनि बर्षादमा त्यसले काम नगर्ने गरेको उनको भनाई छ ।


बर्षादमा पुल नहुँदा ३/४ घण्टा पैदल यात्रा गर्नुपर्ने अबस्था रहेको उनको भनाई छ ।“कोही बिरामी परेमा डोकोमा बोकेर ल्याउनु पर्छ”,उनले भने“निकै कठीनाई छ ।” सोही ठाउँमा पुल निर्माणकालागि लुम्बिनी प्रदेश सरकारले यस अघि बजेट पनि बिनियोजन गरेको थियो । १५ लाखमा डीपीआर भएको छ, भने एक करोड ७० लाख बजेट पनि बिनियोजन भएको थियो ।

तर, त्यो बजेट कार्यान्वयन हुन नसक्दा पुल निर्माण हुन सकेको छैन । सोही स्थानमा पुल निर्माणकालागि २३ करोड लाग्ने स्टिमेट गरिएको छ । त्यस क्षेत्रमा भएको झोलुंगे पुलबाट त्यहाँका बासिन्दाहरु आवतजावत गर्ने गर्ने गरेका छन् ।