सिकलसेल र एनिमिया रोग निवारण प्रदेश सरकारको प्राथमिकतामा छः मन्त्री खनाल

दाङ, १६ चैत ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सिकलसेल र एनिमिया रोग निवारणका लागि प्रदेश सरकारको चासो रहेको बताएका छन् । उनले यी रोगहरु निवारण गर्नका लागि परिक्षण र निदानलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।

लमही अस्पतालमा सिकलसेल एनेमिया तथा थालासेमिया रोग निदान सम्बन्धी सेवा सुभारम्भ गर्दै स्वास्थ्य मन्त्री खनालले प्रदेशका तराईका जिल्लामा बढि देखिएको सिकलसेलको परिक्षण र उपचारलाई मन्त्रालयले प्राथमिक्तामा राखेर काम गरिरहेको बताएका हुन् ।

यस्का लागी बर्दियामा अस्पताल निर्माण गरिदैछ भने तराईका जिल्लामा रहेका अस्पतालमा रगत परिक्षणको साथै उपचार सेवालाई प्रभावकारी बनाउन थालिएको उनले जानकारी गराए । लुम्बिनी प्रदेशको मध्यविन्दुमा पर्ने दाङको लमही अस्पतालमा सिकलसेल एनिमिया तथा थालासेमियाको परिक्षण सुरु भएपछी उपचार सेवा समेत प्रभावकारी हुने आशा गरिएको स्वास्थ्यमन्त्री खनालले बताए।


सिकलसेलको संक्रमण अन्त्यका लागी अभियानकै रुपमा परिक्षण गर्ने र संक्रमण भएकाहरुलाई कार्डको व्यवस्था गरि वैवाहिक सम्बन्ध कायम गर्दा कार्ड हेर्ने व्यवस्था गर्न आबश्यक रहेकाले त्यस तर्फ मन्त्रालय अग्रसर रहेको मन्त्री खनालले बताए। मन्त्री खनालले सिकलसेल भएका व्यक्तिको परिवारको निशुल्क विमा कार्यक्रम प्रदेशमा सुरु भैसकेको पनि जानकारी दिए ।

अर्को प्रसँगमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले कुनै दिर्घकालिन योजना बिना घोषणाका भरमा पालिका स्तरमा बनेका अस्पताल भवन अहिले समस्याको रुपमा देखिन थालेको बताए। भवन मात्र नभई उपकरण जनशक्ति र भौतिक पूर्वाधारको संयोजनले मात्रै गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने मन्त्री खनालको भनाई थियो ।

कार्यक्रममा स्वास्थय सचिव डा.जनार्दन पन्थी, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, पूर्व नगरप्रमुख कुलवहादुर केसी लगायतले सिकलसेलको उपचार र लमही अस्पतालले प्रदान गरिरहेका सेवाका बारेमा बोलेका थिए।