गुणस्तरीय शिक्षा कुरामा मात्र भयो व्यवहारमा लागू भएनः नगर प्रमुख चौधरी

दाङ, ६ फागुन ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षाका लागि कडाईका साथ लाग्नु पर्ने बताए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा विकास तथा समन्वय इकाई दाङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले गुणस्तरीय शिक्षा मात्र भन्ने तर व्यवहारमा कसैले लागू नगर्दा शिक्षाको गुणस्तर खस्किदै गएको बताए ।

‘अभिभावकहरुले बालबालिकालाई विद्यालय पठाएर आनन्दसंग घर बस्ने गर्दछन, मेरो बच्चाले स्कुल गएर पढेको छ कि खेलेको छ कि कतै गलत काममा लागि रहेको छ त्यो बारे कसैले ध्यान दिएको जस्तो लाग्दैन’ प्रमुख चौधरीले भने । ‘कागजीरुपमा लिखित धेरै भए अब व्यवहारमा लागू गर्नु होस, शिक्षालाई प्रभावकारी गराउनुस तपाईंहरुको सुख दुस्खमा स्थानीय सरकार छ, तपाईंहरु आत्तिनु पर्दैन’ उनले भने।

सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालय तथा आधारभुत तह कक्षा १–८ को सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एक दिने अन्तरक्रिया कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ दाङका प्रमुख देवमणी चौधरीले शिक्षालाई कसरी सुधार्न सकिन्छ भन्ने विषयमा सबै गम्भीर हुनु पर्ने बताए । गतिलो शिक्षा प्रदान गर्न सकिएन भने समाजले सहि मार्ग समात्न नसक्ने कुरामा प्रमुख चौधरीले जोड दिए ।


सो क्रममा प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले आफ्ना जीवन भोगाईका अनुभव सुनाएका थिए । सुवेदीले विद्यालय कस्तो गराउने भन्ने मुख्य हात शिक्षकको हुन्छ र देश बनाउने भनेको ज्ञान, विज्ञान र बुद्धिले भएको बताए । लमही नगरपालिकाका शिक्षा अधिकृत भवानी गिरीले सबै स्थानीय तहमा राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्नेमा शिक्षक, अभिभावक र विद्यार्थी सबैको भूमिका महत्त्वपूर्ण हुने बताए ।

शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई दाङका प्राविधिक सहायक उर्मिला शर्माले गरेकी थिईन् ।

एक दिने अन्तरक्रिया कार्यक्रममा लमही नगरपालिका, राप्ती, राजपुर र गढवा गाउँपालिकामा रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाको सहभागिता रहेको थियो ।