राप्ती प्रादेशिक अस्पताललाई दुईसय बेड बनाउछौंः मुख्यमन्त्री चौधरी

तुलसीपुर,१६ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई दुइसय सैयाको बनाउने बताउनुभएको छ । १६ औँ गणतन्त्र दिवसका अवसरमा मंगलबार अस्पतालका बिरामीहरूले फलफूल वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । अस्पतालले ५० बेडको मान्यता पाएको छ, तर, दुईसय सैया सञ्चालन हुँदै आएको छ ।

अब त्यसलाई मान्यता दिएमा सोही अनुसार कर्मचारी आउने र सेवा प्रवाह प्रभाबकारी हुने उहाँले बताउनुभयो ।“हामीले यो अस्पताललाई दुइसय सैया बनाउछौं”,उहाँले भन्नुभयो“त्यसपछि सेवा प्रभाबकारी हुन्छ ।” लुम्बिनीमा दुई वटा प्रादेशिक अस्पतालहरूलाई अन्य अस्पतालको स्रोत केन्द्रका रुपमा विकास गर्ने समेत मुख्यमन्त्री चौधरीले बताउनुभयो ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले स्वास्थ्य सेवालाई सामान्य नागरिकको पहुँचमा पुर्‍याउन आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।


त्यस्तै प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रादेशिक अस्पताललाई दुई सय बेडको बनाउनकालागि प्रक्रिया अघि बढेको बताउनुभयो ।

त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पताललाई दुई सय बेडको बनाउनकालागि ओएमएन सर्वे गरेर प्रदेश सरकारमा पठाएको भन्दै त्यसमा सुनुवाई हुनपर्ने बताउनुभयो ।