राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा

तुल बहादुर कवँर मगर
भालुबाङ, ४ बैशाख।
दाङको राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा पुरुष तर्फ वडा नं. १ र २ तथा महिला तर्फ वडा नं.२ र ४ फाइनलमा प्रवेश गरेका छन्।

गाउँपालिकाको वडा नं.२, लालमटियास्थित टुडिखेल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन बिहीबार भएको सेमिफाइनल खेलमा पुरुषतर्फ वडा नं.२ ले वडा नं. ५ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। त्यस्तै, अर्को सेमिफाइनल खेलमा वडा नं. १ ले वडा नं. ३ लाई पनि १–० को झिनो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

महिला तर्फ वडा नं.२ ले वडा नं.१ लाई २–० को एकतर्फी नतिजामा पराजित गर्‍यो भने वडा नं. ४ ले वडा नं.५ सँगको प्रतिस्पर्धा पेनाल्टी सुटआउटमा २–१ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो। निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।


पुरुष तर्फ वडा नं. २ र वडा नं. ५ बीचको खेलमा हावाहुरीका कारण केही समय खेल स्थगित भएको थियो। प्रतियोगिताको दुबै तर्फको फाइनल खेल आगामी शुक्रबार हुने खेल सञ्चालन समितिका संयोजक तथा वडा नं.३ का अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार विजेता टिमलाई नगद ४०/४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद ३०/३० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विधागत रूपमा पुरस्कृत गरिने उहाँले बताउनुभयो।