दाङमा भूमिहिनलाई जग्गा बाँड्ने तयारी

दीपक बोहरा
तुलसीपुर,१४ जेठ ।
राष्ट्रिय भूमि आयोग,दाङले भूमिहिन सुकुम्वासी तथा भूमिहिन दलितलाई जग्गा बाँड्ने तयारीमा रहेको बताएको छ । दुईसय जति फाईल पूर्जा वितरणकालागि अन्तिम तयारीमा पुगेको भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले बताउनुभयो ।“हामीले पहिलो चरणमा केही फाईलहरु हेरेर पूर्जा वितरणको अन्तिम तयारी गरेका छौं”,अध्यक्ष रेग्मीले भन्नुभयो“करिब दुईसय जति अन्तिम तयारीमा पुगेका छन् ।”

एक महिनादेखि सदस्य सचिब नहुँदा काम अगाडी बढ्न नसकेको भन्दै सदस्य सचिब आएमा ति वितरण हुने उहाँको भनाई छ । सदस्य सचिब गएको बर्ष चैत अन्तिम तिर विभागमा काम भएको भन्दै गएको र ३ बैशाखमा नापी अधिकृतलाई कार्यवहाक दिएको भनि चिठी पठाउनु भएको थियो । त्यसयता उहाँ नआएपछि अहिले काम प्रभाबित भएको छ । “सदस्य सचिब आउनु हुन्छ की भनेर धेरै पर्खियौं,उहाँ आउनु भएको छैन”,अध्यक्ष रेग्मीले भन्नुभयो“उहाँ नआउँदा धेरै काम रोकिएको छ , उहाँ आएलगतै वितरणको काम अघि बढ्छ ।”

सदस्य सचिब आएसंगै बोर्ड बैठक बसेर पूर्जा वितरण गर्ने तयारी गरेको उहाँको भनाई छ । कार्यवहाको जिम्मेवारी आफू मातहतको नापी अधिकृतलाई दिएको भएपनि अन्य अधिकार नहुँने भएकाले पनि सदस्य सचिबविना काम अगाडी बढाउन नसकिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।


जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अब्यबस्थित बसोबासीहरु गरि ७५ हजार बढि आवेदन परेका छन् । त्यसमा पालिकाले छानविन गरिरहेका छन् । केही पालिकाले नापीको काम पनि गरिरहेका छन् ।

बबई, राप्ती, गढवालगायतले नापीको कामको प्रक्रिया अघि बढाईसकेका छन् । त्यस्तै अन्य पालिकाले छानविनको काम गरिरहेको अध्यक्ष रेग्मीले बताउनुभयो । अहिले कम्प्युटरमा डाटा इन्ट्रिको काम पनि भइरहेको उहाँको भनाई छ ।