नगर विकास समितिको जग्गामा काँग्रेस नेताको घर !

दाङ, २८ चैत ।
नेपाली काँग्रेसका नेता जानकिलाल बस्नेतले लमही नगर विकास समितिको जग्गामा घर बनाउन थालेपछि ध्यानाकर्षण भएको छ । नगर विकास समितिको जग्गा मिचेर बस्नेतले घर बनाउन लागेको भन्दै समितिले पटक–पटक लमही नगरपालिकामा छलफल पनि ग¥यो । तर, ति छलफल निष्कर्ष विहीन बन्दै गएको छन् ।

जग्गा मिचिएको भन्दै बस्नेतलाई चिठी लेख्नकालागि लमही नगरपालिकाका प्रमुख तथा नगर विकास समितिका अध्यक्ष जोगराज चौधरी हिच्किचाएको स्रोतले बताएको छ ।“मेयरले हाकिमलाई हस्ताक्षर गराउनु पर्छ भन्छन्”,स्रोतले भन्यो“हाकीमले मेयरलाई हस्ताक्षर गराउनु पर्छ, भनेर एक अर्कालाई देखाएर पन्छिने गरेका छन् ।”

गएको फागुन १४ गते नै बस्नेतलाई पठाउनकोलागि ‘ड्राफ्ट’ तयारी गरिएको छ । तर, प्रमुख चौधरीले हस्ताक्षर नै गर्न नमानेपछि त्यो पत्र पनि पठाएको छैन । जुन पत्रमा चैलाही २ च कित्ता नं. ५९७ को जग्गा मिचिएको भन्दै त्यस स्थानमा घर निर्माण कार्ग रोक्न भन्दै पत्र पठाउने तयारी थियो । त्यो पत्रमा नापी कार्यालय लमहीबाट अमिन र नगर विकास समितिको रोहबरमा आफ्नो जग्गा एकीन गरेर मात्रै घर निर्माण अगाडी बढाउने भन्ने ब्यहोरा तयार छ । नगर विकास समितिको उत्तर तर्फ लमही नगरपालिका वडा नं. ५ मा बस्नेतले घर निर्माण कार्य जारी राखेका छन् ।

सोही क्षेत्रमा केही ऐलानी जग्गा छ । त्यही जग्गामा उनको घर बनिरहेको छ । ऐलानी जग्गासंगै सटेको करिब ७ मिटर जग्गा मिचिएको नगर विकास समितिको अनुमान छ । अहिले त्यहाँ पिल्लर उठाउने काम समेत भइसकेको छ । केही महिना अघिदेखि त्यहाँ घर निर्माण कार्य सुरू भएको थियो ।


नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बस्नेतले भने अर्कैबाट त्यो जग्गा किनेको प्रतिक्रिया दिएका छन् ।‘मैले रत्न केसी मार्फत जग्गा किने, त्यही ठाउँमा ओम प्रकाश सुवेदी र घनश्याम खनालको पनि जग्गा थियो’,उनले भने‘हामी तीनै जनाको सहमति अनुसार त्यो सबै जग्गा मैले लिएको हुँ ।’

पहिले त्यो गुठीको जग्गा रहेको र, नगर विकास समितिले पनि त्यहाँको जग्गा पछि नै आफ्नो नाममा लिएको उनको प्रतिक्रिया थियो । बस्नेत २०७४ सालमा प्रदेशसभा सदस्यका उम्मेदवार थिए । उनी एमालेका रेवतिरमण शर्माबाट पराजित भएका थिए । साभार : अग्रिम साप्ताहिक