सेवा आयोगमा अनेरास्ववियुको ताला

तुलसीपुर, १९ साउन।
नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगमा अनिश्चितकालीन ताला लागेको छ । अनेरास्ववियुले चारबुँदे माग राख्दै बुधबार सेवा आयोगमा ताला लगाएको हो ।

विश्वविद्यालयमा खुला प्रतिस्पर्धामार्फत सेवा प्रवेशमा रोक लगाएर खुला विज्ञापन स्थगन गरेको, विद्यापीठहरुमा स्थायी जनशक्तिको ब्यवस्था गर्न, प्रधानमन्त्रीले उपकुलपतिलाई हस्तक्षेप गरेको र सेवा आयोगमार्फत गरिएका विज्ञापनको समयमै कार्यान्वयन गर्न माग गर्दै अनेरास्ववियुले आयोगमा अनिश्चितकालीन ताला लगाएको जनाएको छ ।

अनेरास्ववियु जनता विद्यापीठ बिजौरीका अध्यक्ष विमलराज बुढा, अनेरास्ववियु केन्द्रीय आयुर्वेद विद्यापीठका सहसचिव मदन पोख्रेल र अनेरास्ववियु विश्वविद्यालय विद्यापीठका अध्यक्ष रोहित सुवेदीले तालाबन्दी गरेको जानकारी दिनुभयो । अनेरास्ववियुले माग पूरा नहुँदासम्म तालाबन्दी जारी रहने जनाएको छ ।


नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले भने प्रधानमन्त्री कार्यालयमार्फत् खुलातर्फको विज्ञापन स्थगन गर्न निर्देशन आएको जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि खुलातर्फको विज्ञापन सेवा आयोगमार्फत स्थगित गरिएको उपकुलपति लामिछानेले जानकारी दिनुभयो । साथै प्रधानमन्त्री कार्यालयले चैत १६ गते खोलेको विज्ञापनका विषयमा छानबिन गर्न सहसचिव नारायणप्रसाद भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । भट्टको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रधानमन्त्री कार्यालयले खुला प्रतिस्पर्धातर्फको विज्ञापन स्थगन गर्न निर्देशन दिएको भए पनि आन्तरिक तर्फको विज्ञापनको प्रक्रिया अघि बढाउन निर्देशन गरेको छ । यस्तो निर्देशनपश्चात विश्वविद्यालयले सेवामार्फत् प्रक्रिया शुरु गरेपछि अनेरास्ववियुले ताला लगाएको हो । संस्कृत विश्वविद्यालयमा अहिले पनि तालाबन्दी जारी छ । विश्वविद्यालयका उपकुलपति कक्ष, सेवा आयोग, आर्थिक महाशाखा, शिक्षा अध्यक्षको कार्यकक्षमा तालाबन्दी रहेको छ । आर्थिक महाशाखामा तालाबन्दी भएपछि कर्मचारीले तलब समेत पाउन सकेका छैनन् ।