सिसौबगर खेल मैदानमा फुटबल प्रतियोगिता सुरु, युवालाई खेलमार्फत अघि बढाउने लक्ष्य

प्रिया स्मृती गजमेर
देउखुरी, २७ जेठ ।
लमही नगरपालिका वडा नम्बर ६ को सिसौबगर खेल मैदानमा आजदेखि वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख योगीले खेलकुदले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुदलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा व्याख्या गर्दै युवाहरूलाई खेल गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।

उपप्रमुख योगीले भन्नुभयो, “खेल केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्ने महत्वपूर्ण क्षेत्र पनि हो । आजका युवाहरूलाई कुलत र विकृतिबाट टाढा राखेर सकारात्मक दिशातर्फ डोर्‍याउन खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण छ । स्थानीय तहले खेलकुद क्षेत्रको विकासमा निरन्तर लगानी गर्न आवश्यक छ ।”

उहाँले खेलाडीहरूलाई खेल भावना अनुसार प्रतिस्पर्धा गर्न आग्रह गर्दै जित र हारलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो । खेलकुदमार्फत स्थानीय स्तरबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने भन्दै उहाँले यस्ता प्रतियोगिताले प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले युवाहरूको माग र आवश्यकतालाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । वडाभित्र रहेका युवाहरूलाई खेल गतिविधिमा जोड्ने, उनीहरूको प्रतिभा उजागर गर्ने तथा आपसी सद्भाव र भाइचाराको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको उहाँको भनाइ थियो ।


वडा अध्यक्ष चौधरीले भन्नुभयो, “वडा कार्यालयले युवाहरूको चाहना र आवश्यकतालाई प्राथमिकतामा राखेर यो प्रतियोगिता आयोजना गरेको हो । खेलकुदले युवाहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्छ । यसले उनीहरूलाई समाजप्रति जिम्मेवार र अनुशासित नागरिक बन्न समेत प्रेरित गर्छ ।”

उहाँले आगामी वर्षहरूमा पनि खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्ने योजना रहेको जानकारी दिनुभयो । “वडामा रहेका प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्न, खेल पूर्वाधार विकास गर्न तथा नियमित प्रतियोगिता सञ्चालन गर्न वडा कार्यालय प्रतिबद्ध छ । युवाहरूलाई हौसला दिन र उनीहरूको क्षमताको विकास गर्न आवश्यक सहयोग निरन्तर गरिनेछ,” अध्यक्ष चौधरीले बताउनुभयो ।

प्रतियोगितामा वडा नम्बर ६ भित्रका ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामार्फत स्थानीय खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय खेलप्रेमी, जनप्रतिनिधि, समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा खेलकुदमार्फत स्वस्थ समाज निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रमको सञ्चालन अनुप बुढा मगरले गर्नुभएको थियो । प्रतियोगिताले वडा स्तरमा खेलकुद गतिविधिलाई थप चलायमान बनाउनुका साथै युवाहरूमा उत्साह र ऊर्जा थप्ने विश्वास गरिएको छ ।