फेरि शुरु सरसफाई अभियान

देव राज कँडेल
तुलसीपुर, २५ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाले सरसफाई अभियान फेरि शुरु गरेको छ । कोरोना संक्रमणका कारण अभियान स्थगन भएको थियो । सरसफाई अभियानअन्तर्गत बुधबार वीरेन्द्र चोकदेखि जेसिज चोकसम्म सरसफाई गरिएको थियो । नगरप्रमुख टीकाराम खडकाको नेतृत्वमा सरसफाई अभियान सुरु गरिएको हो ।

‘आहा ! म, मेरो शहर म आफै सफा गर्छु भन्ने नाराका साथ अभियान शुरु गरिएको हो । अभियान सुरु गर्दै नगरप्रमुख खडकाले स्वस्च्छ र सफा शहर बनाउनका लागि नगरवासीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले भन्नुभयो ‘ पहिले आफ्नै घर पसलबाट सफा बनाउने अभियान शुरु गरौ, त्यसपछि आफै घर,शहर सफा हुन्छ ’ । पसल सफा भएमात्रै ग्राहकहरुको आकर्षण बढ्ने उहाँले बताउनुभयो ।


नगर उपप्रमुख स्यानी चौधरीले सफा शहर बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले स्वयम नगरवासी र व्यवसायीहरुलाई सचेत बनाउने र अटेरी गरेको अवस्थाका कार्वाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियानकर्ता विमल रिजालले अभियानकर्ता मात्रै जागरुक नभई आम नगरवासीसमेत आफ्नो ठाउँको फोहोर आफैले सफा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेललगायतका कार्यालयका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । नगरप्रमुख खडकाले बजार क्षेत्रमा अनाधिकृतरुपमा राखिएका ब्यानरले दृश्य प्रदूषण गराएको भन्दै आफैले हटाउनुभएको थियो । कार्यक्रमको सञ्चालन सरसफाई तथा फोहोर व्यवस्थापन शाखाका प्रमुख माधव पौडेलले गर्नुभएको थियो ।