दाङ कांग्रेसमा देउवा पक्षको २६ सदस्यीय निर्वाचित, जिल्ला सभापतिमा गोपालराज शर्मा

दाङ, १६ कार्तिक ।
शेरबहादुर देउबा नेतृत्वको नेपाली कांग्रेस दाङको जिल्ला अधिवेशनले २६ सदस्यीय कमिटी निर्बाचित गरेको छ। हिजो र आज सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिसहित पदाधिकारी तथा सदस्य रहने गरी निर्बाचित कमिटीको नाम टुंगो लगाइएको हो।

देउवा पक्षबाट जिल्ला सभापतिमा गोपालराज शर्मा चयन गरिएको छ । त्यस्तै, उपसभापतिमा भगवानदास यादव र सुरेन्द्र खड्का, सचिवमा पूर्ण मल्ल र गेहेन्द्र वली तथा सहसचिवमा रामबहादुर केसी र अनिता विक निर्बाचित हुनु भएको छ ।

जिल्ला अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले गर्नुभएको थियो।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता गिरीले स्थानीय तहको निर्वाचनअघि सर्वोच्च अदालतले कांग्रेसभित्रको विवाद निरूपण नगरे पार्टी विभाजन हुन सक्ने बताउनुभयो। उहाँले अदालतले देउवा पक्षलाई आधिकारिकता दिने विश्वास व्यक्त गर्नुभयो।

बजारमा कांग्रेसको विशेष महाधिवेशन र आधिकारिकता प्राप्तिका लागि भइरहेका गतिविधि सार्वजनिक सञ्चारमाध्यममा आइरहेको उल्लेख गर्दै गिरीले अन्तिम सत्य देउवा पक्षको आधिकारिकताले जित्ने दाबी गर्नुभयो।