राप्तीका किसानलाई व्यावसायिक माछापालन तालिम

भालुवाङ, १७ कार्तिक ।
दाङको राप्ती गाउँपालिकाका किसानलाई व्यावसायिक माछापालनतर्फ आकर्षित गर्ने उद्देश्यले एकदिने मत्स्य विकास तालिम सञ्चालन गरिएको छ।

मंगलबार राप्ती गाउँपालिका–२ लालमटियामा मत्स्य विकास केन्द्र बाँकेको आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो।

तालिममा १७ जना कृषकको सहभागिता रहेको थियो। तालिममा प्रशिक्षक प्रेम शाही ठकुरी र प्रेमकुमार चौधरीले माछापालनको सम्भावना, व्यावसायिक मत्स्यपालनका विधि, पोखरी व्यवस्थापन, माछाको आहार व्यवस्थापन, रोगको पहिचान तथा नियन्त्रण र उत्पादन वृद्धि गर्ने उपायबारे सहजीकरण गर्नुभएको थियो।


प्रशिक्षकहरूले माछापालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक रूपमा सञ्चालन गर्न सके किसानका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्ने बताउनुभएको थियो। त्यसका लागि माछाको जात छनोटदेखि पोखरी व्यवस्थापन, आहार र पानीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने विषयमा जानकारी गराउनुभएको थियो।

माछाको बढ्दो मागलाई स्थानीय उत्पादनबाटै परिपूर्ति गर्ने र किसानलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।