जखेरा तालमा डुबेर ६ वर्षीया बालिकाको निधन

लमही, १७ कार्तिक ।
दाङको लमही नगरपालिका(३ स्थित पर्यटकीय स्थल जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा अचानक तालमा खसेर एक ६ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।

परिवारसँगै पिकनिक (बनभोज) मनाउन पुगेकी गढवा गाउँपालिका(२, कोठरी निवासी चुन्निलाल चौधरीकी ६ वर्षीया छोरी कृतिका चौधरीको पानीमा डुबेर ज्यान गएको हो।

वडा प्रहरी कार्यालय लमहीका अनुसार सोमबार दिउँसो करिब १:५० बजे अभिभावकसँग जखेरा ताल पुगेकी कृतिका तालको किनारबाट माछालाई दाना खुवाउँदै थिइन्। सोही क्रममा अचानक चिप्लिएर उनी तालमा खसेकी थिइन्।


बालिका तालमा खसेलगत्तै उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूको अथक प्रयासका बाबजुद उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

बालिकाको शव पोस्टमार्टमका लागि लमही अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। पारिवारिक रमाइलोका लागि पुगेको ठाउँमा भएको यस अप्रत्याशित घटनाले परिवार र आफन्तजनमा गहिरो शोक छाएको छ।