
तुलसीपुर, १६ कार्तिक ।
श्रम संस्कृति पार्टी नेपालको पहिलो स्थापना दिवस तुलसीपुरमा विविध रचनात्मक, सामाजिक तथा सांगठनिक कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ।
दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका नगर समितिका अध्यक्ष ईश्वरीप्रसाद गैरेको अध्यक्षतामा बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित माध्यमिक विद्यालय सेन्टर परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो।
पूर्व निर्धारित कार्यक्रम अनुसार दिउँसो नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको रक्त सञ्चार केन्द्र तुलसीपुरमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए।
त्यस्तै, स्थापना दिवसकै अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवामा पार्टीको नयाँ सम्पर्क कार्यालय स्थापना गरिएको छ। उक्त कार्यालयको समुद्घाटन पार्टीकी केन्द्रीय सचिव शान्ति पाख्रिन लामाले गर्नुभएको थियो।
१६ जना युवायुवती श्रम संस्कृति पार्टीमा प्रवेश
कार्यक्रमका क्रममा तुलसीपुर नगर क्षेत्रका विभिन्न स्थानबाट १६ जना युवायुवती श्रम संस्कृति पार्टी नेपालमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई कार्यक्रमकी प्रमुख अतिथि एवं पार्टीकी केन्द्रीय सचिव शान्ति पाख्रिन लामाले पार्टीको सदस्यता वितरण गर्दै स्वागत गर्नुभएको थियो।
‘श्रम र पसिनाले देश विकास सम्भव छ’ — केन्द्रीय सचिव लामा
सम्पर्क कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै केन्द्रीय सचिव शान्ति पाख्रिन लामाले छोटो समयमै तुलसीपुर नगर समितिले प्रशंसनीय र रचनात्मक कार्य गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा उत्साहजनक नतिजा हासिल गर्न सम्पूर्ण टिम निरन्तर क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो।
सम्बोधनका क्रममा सचिव लामाले भन्नुभयो— “हाम्रो पार्टी हिंसा वा देश खरानी बनाएर उदाएको पार्टी होइन। देशमा पसिना, श्रम र सीपको सदुपयोग गर्दै श्रमदानका माध्यमबाट विकास सम्भव छ भन्ने मूल उद्देश्यका साथ हामी अघि बढेका छौँ।” उहाँले धरानमा ४२ किलोमिटर टाढाबाट ९८ दिनमा श्रमदानमार्फत पानी ल्याउन सफल भएको, दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल निर्माण गरेको तथा पूर्वी पहाडी जिल्लाहरूमा स्थानीय आवश्यकता अनुसार श्रमदानबाट ठूला-ठूला परियोजनाहरू सम्पन्न गरिएको उदाहरण प्रस्तुत गर्नुभयो।
साथै, भ्रष्टाचारविरुद्ध दृढताका साथ उभिएर तुलसीपुरलाई भ्रष्टाचाररहित समाज निर्माण गर्न नगर समितिले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै उहाँले रक्तदान गर्ने सम्पूर्ण स्वयंसेवकहरूलाई धन्यवाद दिनुभयो।
रचनात्मक कार्यमा जुट्न आह्वान
कार्यक्रममा बोल्दै पार्टीका लुम्बिनी प्रदेश सहसचिव टोप बहादुर महतराले देशको विकास र निर्माण कार्यमा सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान र सेवा गर्न आग्रह गर्नुभयो।
पार्टीका उपाध्यक्ष गणेश बहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन सचिव मान बहादुर घर्तीले गर्नुभएको थियो।
कार्यक्रमका अध्यक्ष ईश्वरीप्रसाद गैरेले स्थापना दिवसका अवसरमा बिहानको सरसफाइ, रक्तदान तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सक्रियताका साथ सहभागी हुनुभएका केन्द्रीय टिम, स्थानीय श्रमदाताहरू एवं नयाँ जोडिनुभएका श्रमदाताहरूलगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।



लाइभदाङ । १७ कार्तिक २०८३, सोमबार २१:३६ बजे