दाङमा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु

भालुवाङ १६ कार्तिक ।
दाङको देउखुरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

लमही- भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका-३ बाघढड्डीमा गएराती १:३५ बजेको समयमा सो दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका- ६ भगवानपुर निवासी अन्दाजी वर्ष ३०/३१ को प्रविन चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका चौधरीलाई भालुवाङ अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।


त्यस्तै दुर्घटनामा परि सोही मोटरसाइकलमा सवार राप्ती गाउँपालिका-३ मसुरिया निवासी अन्दाजी वर्ष १६ को निशु चौधरी र सोही ठाउँकै अन्दाजी वर्ष १९ कि करिना चौधरी गम्भीर घाइते भएका छन् । घाइते दुवैको अहिले बुटवल स्थित लुम्बिनी सिटीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश ३-०२-०१० प ६९२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियोे । ट्रक, चालक र मोटरसाइकललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।