१० वर्षसम्म पत्रेखोलाको पुल अलपत्र पार्ने शंकरमाली निर्माण सेवा कालोसूचीमा

तुलसीपुर, १६ कात्तिक ।
दाङको घोराही–तुलसीपुर सडकखण्डमा पर्ने पत्रेखोलाको पक्की पुल निर्माणमा चरम लापरबाही गरी करिब १० वर्षसम्म आयोजना लड्काउने शंकरमाली निर्माण सेवा अन्ततः कारबाहीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय ले यस निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।

सडक डिभिजन कार्यालय जुम्ला, कर्णाली प्रदेश लगायतका अन्य विभिन्न सरकारी निकायहरूको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले यो कदम चालेको हो। निर्माण कार्यमा लगातार ढिलासुस्ती गरेको, सम्झौता अनुसारको गुणस्तर र समयसीमा कायम नगरेको भन्दै शंकरमाली निर्माण सेवालाई फेब्रुअरी २०२६ मै कालोसूचीमा सूचीकृत गरिसकिएको छ।


आर्थिक वर्ष २०७१/७२ मा सम्झौता भएको ४० मिटर लामो पत्रेखोलाको पुल २ वर्षभित्रै सम्पन्न गर्नुपर्ने लक्ष्य थियो। तर, निर्माण व्यवसायीको चरम ढिलासुस्ती, लापरबाही र आलटालका कारण यो आयोजना झन्डै एक दशकसम्म अलपत्र परेको थियो। हिउँदमा धुलो र वर्षात्मा बाढीको जोखिम मोलेर दाङवासीले वर्षौंसम्म सास्ती भोग्नुपरेको थियो। व्यापक जनदबाब र लामो विवादपछि मात्र यो पुल सन् २०२३ (वि.सं. २०८०) मा सञ्चालनमा आएको थियो।

जुम्ला सडक डिभिजन लगायतका निकायहरूले आफ्नो क्षेत्रका पूर्वाधार आयोजनाहरूमा समेत यस कम्पनीले यस्तै बदमासी र ढिलासुस्ती गरेपछि कडा कारबाहीका लागि सिफारिस गरेका थिए। कालोसूचीमा परेसँगै अब शंकरमाली निर्माण सेवाले तोकिएको अवधिसम्म नेपाल सरकारको कुनै पनि नयाँ सार्वजनिक खरिद तथा ठेक्का प्रक्रियाहरूमा सहभागी हुन पाउने छैन। विकास निर्माणका आयोजना समयमै नसक्ने र नागरिकलाई सास्ती दिने निर्माण व्यवसायीमाथि राज्यले ढिलै भए पनि कडा कदम चालेको भन्दै दाङबासीले यस कारबाहीलाई सकारात्मक रूपमा लिएका छन्।