
तुलसीपुर, १७ कार्तिक ।
तुलसीपुरमा गरिएको बजार अनुगमनका क्रममा यसअघि दिइएका निर्देशनहरू पालना नगरेको भेटिएपछि नताशा मिष्ठान्न भण्डार कारबाहीमा परेको छ। अनुगमन टोलीले पाँच हजार रुपैयाँ जरिवाना समेत गरेको छ ।
उपमहानगरपालिकाको बजार अनुगमन निर्देशिका, २०७५ को परिच्छेद-३ दफा १०९१० बमोजिम गठित संयुक्त अनुगमन टोलीले नताशा मिष्ठान्न भण्डारको स्थलगत निरीक्षण गर्दा व्यवसाय सञ्चालनका क्रममा विभिन्न कैफियतहरू फेला पारेको थियो। निरीक्षणका क्रममा पसलमा मूल्य सूची नराखिएको, नापतौल प्रमाण अद्यावधिक नरहेको, बिक्री बिल दिने प्रक्रिया पालना नगरिएको र लेबलमा खुलाउनुपर्ने विवरणहरू स्पष्ट नभएको पाइएको थियो। साथै, पूर्व निर्देशनहरूको बेवास्ता गरिएको र पसलमा भेटिएका म्याद नाघेका सामानहरू अनुगमन टोलीले जफत गरी नष्ट समेत गरेको छ।
जरिवाना गराउनुका साथै व्यवसायीलाई स्थानीय तह तथा प्रचलित नियम बमोजिमका आदेश र निर्देशनहरू पूर्ण रूपमा पालना गर्न सचेत गराएको छ। तोकिएका नियम र निर्देशनहरूको पुनः उल्लंघन गरिएमा कानुन बमोजिम अझ कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी अनुगमन टोलीले दिएको छ।
तुलसीपुर उपमहानगरपालिलका र खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले अनुगमन गरेको थियो ।



लाइभदाङ । १८ कार्तिक २०८३, मंगलवार ०९:४० बजे