
तुलसीपुर, १७ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिकाद्वारा गरिएको बजार अनुगमनका क्रममा भान्छा तथा रेष्टुरेन्ट क्षेत्रमा चरम फोहोर र मापदण्ड उल्लंघन भेटिएपछि सल्यानी मालिका रेष्टुरेन्ट कारबाहीमा परेको छ। बजार अनुगमन निर्देशिका, २०७५ बमोजिम खटिएको संयुक्त अनुगमन टोलीले स्थलगत निरीक्षण गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने खालको फोहोर भेटिएपछि उक्त रेष्टुरेन्टलाई पाँच हजार रुपैयाँ जरिवाना गराएको हो।
उक्त रेष्टुरेन्टमा अनुगमन गर्दा भान्छा घरको अवस्था अत्यन्त नाजुक रहेको, भुइँ फोहोर भएको र सरसफाइमा गम्भीर लापरवाही गरिएको पाइएको थियो। यसका साथै रेष्टुरेन्टमा कामदारहरूले अनिवार्य रूपमा लगाउनुपर्ने एप्रोन प्रयोग नगरेको तथा मूल्य सूची र साइनबोर्ड सम्बन्धी मापदण्ड समेत पालना नगरेको कैफियत अनुगमन टोलीले फेला पारेको छ।
अनुगमन टोलीले जरिवाना गराउनुका साथै रेष्टुरेन्टको भान्छा तथा सम्पूर्ण परिसरमा नियमित सरसफाइ कायम गर्न, कामदारहरूलाई अनिवार्य एप्रोन लगाउन र तोकिएका सबै मापदण्डहरू तत्काल सुधार गरी अगाडि बढ्न कडा निर्देशन दिएको छ। तुलसीपुर उपमहानगरपालिलका र खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले अनुगमन गरेको थियो ।



लाइभदाङ । १८ कार्तिक २०८३, मंगलवार ०९:४६ बजे