स्वच्छ छविका‘मोहन सर’ को गाउँपालिका हाँक्ने दौड

दीपक बोहरा
तुलसीपुर, १४ वैशाख । पार्टीका नेता कार्यकर्ता मात्रै होईन्, आम नागरिकको मुखमा झुण्डिएको एउटा नाम हो‘मोहन सर’ । सालिन, भद्र स्वभाबका मोहन वली अहिले गाउँपालिका हाँक्ने दौडमा छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी वली आउदो स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका वली सबैका आदर्शका पात्र हुन् ।‘उहाँलाई पार्टी भित्र होस्, या बाहिर सबैले मोहन सर भनेर सम्बोधन गर्छन्’ माओवादी केन्द्र शान्तिनगरका सहसचिब हिरा सुनार(सारथी) भन्छन्‘ समाजमा पनि उहाँको छवि स्वच्छ भएकाले नै पार्टीले उहाँलाई अघि सारेको हो ।’ पार्टी भित्र मात्रै होईन्,बाहिर पनि उनको त्यस्तै क्रेज छ । अन्य पार्टीले पनि उनलाई त्यतिकै आदर्श मान्छन् ।‘उहाँ एउटा पार्टीको मात्रै होईन्, समग्री शान्तिनगरको अभिभावक हो, सबैको आर्दश हो’, शान्तिनगरका एक एमाले नेताले भने‘उहाँबाट धेरैले आशा पनि गरेका छन् ।’

उनी न त अहिलेसम्म कुनै विवादमा मुछिएका छन्, न त एक पक्षीय बनेर नै निर्णय गर्छन्, उनी सामाजिक हितकालागि सामूहिक निर्णय गर्न माहिर नेता मानिन्छन् । माओवादी केन्द्रका प्रभाबशाली नेता जनार्दन शर्मासंग संगै पढेका मोहन राजनीति रुपमा पनि पुराना नेता हुन् । रुकुम होस्, वा दाङमा कम्युनिष्ट जग बसाल्ने एक नेता हुन् ।‘लुकिलुकी संगठन विस्तार गर्न जानु पथ्र्यो, कहिल्यै भिरबाट लडेर, कहिल्यै खोलाले बगाएर पनि बाँचेका हौं’,उनले भने‘निकै कठीन संघर्ष गरेर संगठन निर्माण गरेका हौं ।’ लोकेन्द्र विष्टसंगै संगठन विस्तार गर्न जाने क्रममा साँख खोलाले बगाउँदा बल्ल–बल्ल उत्रिएर बाँच्न सफल भएको उनी सम्झिन्छन् । उनले २०३६ सालदेखि कम्युनिष्टको राजनीति सुरु गरेका हुन् । त्यतिबेला उनी विद्यार्थी संगठनमा आबद्ध थिए ।

२०४० सालमा उनी रुकुममा विद्यार्थी संगठनको अध्यक्ष भए । २०४७ सालमा तत्कालिन मसालको दाङको पश्चिम एरिया सेक्रेटरी भए । २०५३ मा माओवादीको जिल्ला कमिटि सदस्य भएका उनी २०६२ मा थारुवान राज्य कमिटि सदस्य भएका थिए । २०७२ सालमा पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्ष भएका उनी २०७४ सामलमा संगठनको केन्द्रीय सदस्य भएका छन् ।

उनको राजनीतिक जीवनसंगै शिक्षणमा पनि उत्तिकै योगदान छ । उनले ४० बर्ष शिक्षण पेशा अंगालेका छन् । यो बीचमा ३१ बर्षसम्म शान्तिनगर गाउँपालिका स्थित मावि सिमसुन्दरपुरमा शिक्षण गरे ।‘मैले मेरो जीवन शिक्षण पेशामा वेथित गरेको छु’,उनले भने‘मेरा विद्यार्थीहरु कोही जागिरे भएका छन्, कोही राम्रा ब्यबसायी बनेका छन्, ति विद्यार्थीहरुलाई मलाई सम्झिरहन्छन् ।’ उनले शिक्षणमात्रै गरेनन्, शिक्षामा परिबर्तन पनि गरे । उनकै पलहमा मावि सिमसुन्दरपुरमा मावि, उच्च मावि हुँदै प्राबिधिक शिक्षा पनि सुरु भयो । यो पहल पनि शान्तिनगरवासीले निकै खुसीको कुरा हो । अहिले त्यहाँ कृषि पढाई हुन्छ ।‘पहिले प्राबिधिक शिक्षा पढ्न तुलसीपुर, घोराहीलगायत काठमाडौं पुग्नु पर्ने अबस्था थियो’, शान्तिनगर २ निवासी अशिम चौधरीले भने‘तर, अहिले गाउँमै प्राबिधिक शिक्षा पढ्न पाइने भएपछि सहज भएको छ ।’


प्राबिधिक शिक्षा नै स्वरोजगार भएको भन्दै उनले यसलाई आफूले प्राथमिकतामा राखेको उम्मेवार वलीले बताए । उनले गरेको राजनीतिक तथा शिक्षण क्षेत्रको अनुभवलाई अब नेतृत्वमा पुगेर कार्यान्वयन गर्ने धोको छ । शान्तिनगरलाई साँच्चिकै‘शान्तिनगर’ बनाउने दौडमा उनी छन् । विकट शान्तिनगरलाई सुगम शान्तिनगर बनाउने, अभाबमा गुज्रिएको शान्तिनगरलाई समृद्ध शान्तिनगर बनाउने उनको योजना छ ।

उनले जनताका हरेक समस्या समाधान गर्न गाउँपालिकामा आफ्नो नेतृत्व आबश्यक रहेकाले जनताको माग अनुसार आफू चुनाबी मैदानमा उत्रिएको बताउछन् ।‘शान्तिनगरलाई जनताले साँच्चिकै शान्तिनगर भएको हेर्ने चाहाना गरेका छन्’,उनले भने‘जनताको यो चाहाना पूरा गर्न सक्ने नेतृत्वका रुपमा जनताले मेरै माग गरेकाले म चुनाबी मैदानमा होमिएको हुँ ।’ उनी आत्मनिर्भर गाउँपालिका बनाउनकालागि अर्थतन्त्रको विकास गर्ने, निःशूल्क शिक्षा, सशक्त, असहायलाई निःशुल्क उपचार गर्ने विकासमा सर्वपक्षीय सहभागि, एक गाउँ–एक पोखरी, एक गाउँ–एक पार्क’जस्ता नारा लिएर जनतामा गएका छन् । उनले जग्गाको खण्डीकरण रोकी कृषि क्षेत्रको विका गर्ने, बास्तविक किसान पहिचान गरि प्रोत्साहन गर्ने, युवा दुव्र्यशनी रोक्ने बताए ।

यस्तै थुप्रै जनहितकारी एजेण्डाहरु जनतामाझ लिएर गएकाले जित्ने आधार रहेको समेत उनले बताए । अर्को जित्ने आधार भनेको शान्तिनगर माओवादीको बलियो वडा भएको समेत उनले बताए । उनका अनुसार ७ वटा वडा मध्ये ४ वटा वडामा माओवादी बलियो रहेको र अन्य वडामा पनि माओवादीको शसक्त सहभागि रहेकाले पनि जित निकाल्न आफूलाई सजिलो हुने बताए । उनका अनुसार १, २, ५ र ७ नम्बर वडा माओवादीका बलियो वडाहरु रहेको उनले बताए ।

त्यसमा पनि आफ्नो स्वभाव सरल रहेको, कुनै पनि विवादित निर्णय नगर्ने छबि बनाएको, जनतासंग सहजै भिज्न सक्ने भएकाले पनि जित्ने आधार रहेको समेत उनले बताए । त्यस्तै माओवादीकै नीतिमा मुलुक चलिरहेकाले माओवादी नै नेतृत्वमा जानुपर्छ, भन्ने मान्यता रहेकाले त्यो पनि एउटा जित्ने आधार रहेको उनको भनाई छ । उनी एउटा गरीब परिवारमा हुर्किएका ब्यक्ती हुन् ।