
प्रिया स्मृती गजमेर
लमही, १५ भदौ ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले थारु समुदायको महान पर्व बड्का अट्वारीको अवसरमा थारु दिदीबहिनी तथा दाजुभाइ लगायत सम्पूर्ण लमही नगरबासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
नगर प्रमुख चौधरीले आफ्नो शुभकामना सन्देशमा यो पर्वले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई सुदृढ गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार बड्का अट्वारीले खेतीपातीमा सम्पन्नता, परिवारमा सुख–शान्ति र समाजमा समृद्धिको प्रतीक बोकेको छ ।
थारु समुदायमा मनाइने यो पर्वमा विशेष पूजा–आराधना, अन्नपूर्णी देवीको आराधना तथा परिवारका सदस्यहरूबीच मेलमिलाप र रमाइलो गर्ने परम्परा रहेको छ । साथै नयाँ उत्पादन भएको अन्न, फलफूल र परिकार अर्पण गरी प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने चलन पनि रहेको छ ।
नगर प्रमुख चौधरीले यस्तो मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन गर्नु सबैको जिम्मेवारी रहेको उल्लेख गर्दै नगरपालिकाले पनि यस्ता पर्वको महत्व उजागर गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पर्वको महत्व र विशेषता
थारु समुदायमा बड्का अट्वारीलाई धार्मिक र सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ । यस दिन उपवास बसेर अन्नपूर्णी देवीको पूजा–आराधना गर्ने परम्परा छ । बिहानै नुहाइधुवाइ गरी घर आँगन सफा गर्ने, देवीको मूर्ति वा चित्रमा धूप–दीप बाल्ने गरिन्छ ।
यो पर्वमा धान, मकै, तरकारी, फलफूल र दूधजन्य परिकार अर्पण गरी देवीप्रति कृतज्ञता व्यक्त गरिन्छ । पूजापछि परिवारका सबै सदस्य मिलेर नयाँ परिकार ( ढिकरी, भुजिया, तरुल, दूध र दहीको सेवन गर्ने चलन छ ।
सामाजिक र सांस्कृतिक महत्व
यो पर्वले थारु समुदायको मौलिकता मात्र होइन, समाजमा मेलमिलाप, आपसी सद्भाव र सहकार्य बढाउने परम्परा बोकेको छ । विशेष गरी ग्रामीण भेगमा परिवार र आफन्तजनको भेला, गीत–संगीत र रमाइलोको वातावरणले पर्वलाई अझ आकर्षक बनाउँछ ।
त्यस्तै लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले समेत बड्का अट्वारी पर्वको शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना व्यक्त गर्दै उहाँले मौलिक पर्वहरूको संरक्षण र प्रवर्द्धन नगरपालिकाको प्राथमिकतामा रहेको र सबैलाई सांस्कृतिक धरोहर जोगाउन पनि आह्वान गर्नु भएको छ ।
बड्का अट्वारी पर्वका अवसरमा लमही नगरपालिकाले आज भदौ १५ र भोलि १६ गते गरि दुई दिन सार्वजनिक बिदा दिएको छ ।



लाइभदाङ । १५ भाद्र २०८२, आईतवार १३:३७ बजे