
तुलसीपुर, २८ असोज ।
इलाका प्रहरी कार्यालय तुलसीपुरलाई ‘बडी बर्न’ क्यामेरा प्राप्त भएको छ । यस अघि प्रहरी समक्ष ‘बडी बर्न’ क्यामेरा थिएन । जसले गर्दा शान्ति सुरक्षामा निकै समस्या पर्ने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए ।
उनका अनुसार केही दिन अघि मात्रै तुलसीपुरमा प्रहरी माथि नै दोष देखाउने गरि एक ब्यक्तीले वादविवाद गरेको भन्दै यदि यो क्यामेरा भएमा दोषी सहजै पत्ता लाग्ने बताए । उनले प्राप्त प्रविधिको प्रयोगबाट निर्दोेषले न्याय र दोषीले सजाय पाउने विश्वास व्यक्त गरे ।
गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा मोडेल कलेज तुलसीपुरले उक्त क्यामेरा प्रदान गरेको हो । ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले मंगलबार उक्त क्यामेरा प्रहरी नायब उपरीक्षक पराजुलीलाई प्रदान गरेका हुन् । नागरिक र प्रहरीबीच हुने अन्तरक्रियाको वास्तविक दृश्य तथा श्रव्य अभिलेख राख्न र सडक दुर्घटना लगायतका गतिविधिको प्रत्यक्ष प्रमाण संकलन गर्न क्यामेरा हस्तान्तरण गरिएको गोरखा ग्रुपका शैक्षिक निर्देशक केसीले बताए । उनले प्रहरीलाई आबश्यक परेमा थप दुई वटा बडी वर्न क्यामेरा उपलब्ध गराउने समेत बताए ।
त्यस अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले अपराध तथा दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए । यसले प्रमाण संकलनमा मद्दत पु¥याउनुका साथै प्रहरी र सर्वसाधारण दुवै पक्षलाई सुरक्षित महसुस गराउने बताए । उनले अन्य निजी क्षेत्र तथा सरोकारवालाहरूलाई पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता प्रविधिमैत्री सहयोगमा जोडिन आग्रह गरे ।
सुरक्षाकर्मीको पोसाकमा जडान गरिने बडी वर्न क्यामेराले ड्युटीका क्रममा हुने गतिविधि, घटनाक्रम तथा अडियो र भिडियो रेकर्ड गरी कार्यस्थलमा पारदर्शिता, जवाफदेहिता र नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पु¥याउछ ।



लाइभदाङ । २८ आश्विन २०८३, बुधबार ०५:५९ बजे