टरिगाउँ विमानस्थल विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन मन्त्रीको निर्देशन

दाङ, २९ असोज ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङस्थित टरिगाउँ विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन्।  मन्त्री पौडेलको नेतृत्वमा नागरिक उड्डयन क्षेत्रका पदाधिकारीहरूले असोज २१ देखि २६ गतेसम्म दाङ लगायतका विमानस्थलहरूको स्थलगत निरीक्षण तथा अवलोकन भ्रमण गरेका थिए ।

सोही भ्रमण पश्चात् मन्त्री पौडेलले मन्त्रालयमा प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै टरिगाउँ विमानस्थलको विकास र विस्तारका सम्भावनाबारे आवश्यक अध्ययन अघि बढाउन निर्देशन दिएका हुन् ।


यस अध्ययनमार्फत टरिगाउँ विमानस्थलको पूर्वाधार, प्राविधिक सम्भाव्यता, सञ्चालन क्षमता र सेवा प्रभावकारिताको विश्लेषण गरी आगामी कार्ययोजना तयार पारिनेछ।