
मसुरिया, २९ असोज।
दाङको राप्ती गाउँपालिकाले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरेको छ।
गाउँपालिकाले बिहीबार पालिकाका मुख्य बजार क्षेत्रका १७ वटा किराना पसलमा अनुगमन गरेको हो।
उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने, बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्ने तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले सिसहनियाँ, मिलनचोक, पत्थरगढवा, पिपरी, बिजौरी र मौरीघट क्षेत्रका किराना पसलमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ।
अनुगमनका क्रममा केही किराना पसलमा म्याद गुज्रिएका तथा लेबल नभएका सामान फेला परेका छन्। त्यस्तै, केही पसलमा मूल्यसूची नराखिएको र एउटै फर्मको नाममा विभिन्न प्रकारका सामान बिक्री गर्ने गरेको समेत पाइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने भएकाले उपभोक्ताको हित संरक्षण, खाद्यवस्तुको गुणस्तर कायम र बजारमा मूल्य पारदर्शिता सुनिश्चित गर्न अनुगमन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार अनुगमनका क्रममा देखिएका कमीकमजोरीबारे व्यवसायीलाई जानकारी गराउँदै प्रचलित नियमअनुसार व्यवसाय सञ्चालन गर्न सचेत गराइएको छ।
पसलमा बिक्रीका लागि राखिएका वस्तुको म्याद, लेबल, मूल्यसूची तथा व्यवसाय दर्ता र नवीकरणको अवस्थासमेत जाँच गरिएको थियो।
चाडपर्वका बेला उपभोक्ताले दैनिक उपभोग्य वस्तु खरिद गर्दा गुणस्तरहीन तथा म्याद गुज्रिएका सामानबाट जोखिम बेहोर्न नपरोस् भन्ने उद्देश्यले बजार अनुगमनलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।
अनुगमनले व्यवसायीलाई जिम्मेवार बनाउनुका साथै उपभोक्ताको अधिकार संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक कमलापति चौधरीको नेतृत्वमा भएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह, आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका खाद्य निरीक्षक विक्रम पौडेल, राप्ती प्रेसमञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता तथा इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रतिनिधिहरू सहभागीता रहेको थियो ।
गाउँपालिकाले बजारमा स्वच्छता कायम गर्न, उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन र व्यवसायीलाई जिम्मेवार बनाउन बजार अनुगमन कार्यलाई निरन्तरता दिदै आएको छ।



लाइभदाङ । २९ आश्विन २०८३, बिहीबार १६:३६ बजे