दाङमा यात्रुलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दीपक बोहरा
दाङ, ९ साउन ।
यात्रुलाई बासी खाना खुवाउने दाङको एक होटेललाई जरिवाना गरिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ३ मसुरीया स्थित पूर्व–पश्चिम हाइवे होटेललाई २५ हजार रुपैया जरिवाना गरिएको हो ।

फ्रिजमा अस्वस्थकर, वासी खाना भण्डारण गरेको, पकाएर बनाईने खानामा कृतिम रंग प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्य सूचि नटासेको,नालीहरुमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेको जस्ता समस्या देखिएपछि यसरी जरिवाना गरिएको खाद्य खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय दाङका प्रमुख पदम बरालले बताए ।


उक्त हाटेललाई यस अघि पनि पटक–पटक सुधार गर्न निर्देशन गरिएको भएपनि अटेर गरिएपछि शुक्रबार यसरी जरिवाना गरिएको हो । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको अनुगमन टोलीले यसरी जरिवाना गरेको हो ।

तोकिएको जरिवाना एक हप्ता भित्र जिल्ला प्रशासन कार्यालय दाङमा बुझाउनुकासाथै कागजपत्र समेत ल्याउन निर्देशन दिईएको छ ।

त्यो संगै अन्य ८ वटा होटेलहरुको समेत टोलीले अनगुमन गरेको थियो ।