
दाङ, २९ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.५‘ग’ लाइन निवासी सैजान खान २१ बर्षका भए । सानै देखि आफ्नै देशमा केही गर्नुपर्छ, भन्ने मान्यता राख्ने खान अहिले ब्यबसायीमा स्थापित छन् । २१ बर्षमै उनी तीन स्थानमा आफ्नो ब्यबसाय विस्तार गरिसकेका छन् ।“विदेश जाने बाटो रोज्नुभन्दा नेपालमै बसेर आफ्नो पहिचान बनाउने मेरो चाहाना थियो”,उनले भने“ त्यही चाहानाबाट मैले आफ्नै ठाउँमा ब्यबसाय सुरु गरेँ ।”
उनले सन २०२५ अक्टोबर १३ मा दाङको तुलसीपुरबाट ‘ सेन्ट पार्लर’ को ब्यबसाय सुरु गरे । तर, उनले यो ब्यबसायलाई तुलसीपुरमा मात्रै सीमित राखेनन् । नेपालगन्ज र बुटवलसम्म विस्तार गरे । किनकी उनले सक्कली विदेशी परफ्युम यस ठाउँमा महंगो पथ्र्यो भने सक्कली सामान पाउन पनि मुस्किल हुन्थ्यो । त्यो देखेपछि उनले नेपाली परफ्युमप्रेमीलाई गुणस्तरीय र सक्कली परफ्युम उपलब्ध गराउने उद्देश्यले यो व्यवसाय सुरु गरेको बताउछन् ।
उनले यो ब्यबसायलाई अझै विस्तारको तयारी गरेका छन् । दाङको घोराहीमा पनि आफ्नो सोही ब्यबसाय सञ्चालनमा ल्याउन लागेको बताए । अन्य शहरहरुमा पनि विस्तारको योजना रहेको उनी बताउछन् ।
इच्छाशक्ति भए उमेरले छेक्दैन
२१ वर्षको उमेरमै तीन सहरमा आफ्नो व्यवसाय विस्तार गर्न सफल खानको यात्रा एउटा सन्देश हो— सपना ठूलो हुन उमेरले रोक्दैन । अवसर सिर्जना गर्न विदेश नै जानुपर्छ भन्ने पनि छैन। आफ्नै देशमा मेहनत गर्ने आँट, केही नयाँ गर्ने सोच र निरन्तर अघि बढ्ने साहस भए सफलता यहीँबाट पनि सुरु हुन सक्छ, भन्ने उनको मान्यता छ ।



लाइभदाङ । २९ आश्विन २०८३, बिहीबार २२:२३ बजे