भौतिक मात्रै नभई मानविय विकासमा पनि ध्यान दिएका छौंः वडाध्यक्ष वली

तुलसीपुर, ३१ असोज ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष तथा नगर प्रवक्ता माधव वलीले समृद्ध र दिगो समाज निर्माणका लागि पूर्वाधार विकाससँगै मानवीय विकास र प्रकृति संरक्षण अनिवार्य रहेको बताएका छन् । वडा नम्बर १८ द्वारा आयोजित दशै मिलन तथा शुभेच्छा आदानप्रदान कार्यक्रममा प्रवक्ता वलीले भौतिक पूर्वाधार निर्माण मात्रै विकासको सम्पूर्ण सूचक हुन नसक्ने भन्दै नागरिकको चेतना र संस्कार परिवर्तन नभएसम्म विकासको दिगोपन कायम हुन नसक्ने स्पष्ट पारे ।

वडा नम्बर १८ ले सुरु गरेका नवप्रवद्र्धनात्मक कार्यक्रमहरू उपमहानगरपालिका र प्रदेशस्तरमै नमुना बनेको उल्लेख गर्दै उनले ‘पशु सुत्केरी भत्ता’, बरपिपल संरक्षणका लागि ‘जोगाऊ चौतारी गाँसौँ दौतरी’ तथा ‘जातीय छुवाछूत अन्त्य तथा सहअस्तित्व निर्माण’ जस्ता कार्यक्रम पालिकाभरि विस्तार भएको बताए ।

वडाले २०७४ देखि नै दलित सशक्तीकरण र सामाजिक सहअस्तित्वका लागि चलाएको अभियानकै कारण तुलसीपुर उपमहानगरपालिका लुम्बिनी प्रदेशमै पहिलोपटक दलित सशक्तीकरण ऐन ल्याउन सफल भएको उनको भनाई थियो ।

भौतिक पूर्वाधारतर्फ वडामा १५ किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण भइसकेको र एसियाली विकास बैंकको सहयोगमा बिजौरीदेखि कोठरी जोड्ने सडकको नेतृत्व लिएर काम गरिरहेको उनले बताए ।


यद्यपि, निर्मित सार्वजनिक संरचनामा नागरिकको अपनत्व कमी हुने र तोडफोड हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै वडाध्यक्ष वलीले असल र जिम्मेवार नागरिक तयार नपारेसम्म भौतिक संरचनाको रक्षा हुन नसक्ने भएकाले अबको ध्यान मानवीय विकासमा केन्द्रित हुनुपर्नेमा जोड   दिए ।

पूर्वीय दर्शन र आधुनिक विकास अवधारणाको तुलना गर्दै वडाध्यक्ष वलीले पाश्चात्य इन्जिनियरिङले खोला र जलस्रोतलाई ढल मिसाउने माध्यम बनाएको तर पूर्वीय दर्शनले पानी र प्रकृतिलाई भगवानको रूपमा पूज्न र संरक्षण गर्न सिकाएको समेत उनले बताए ।

समाजलाई केवल मानिसहरूको भीड मात्र नभई रुखबिरुवा, पानी, चराचुरुङ्गी र समग्र प्राकृतिक वातावरणको एकीकृत स्वरूपका रूपमा व्याख्या गर्दै उनले मानिसले सिङ्गो प्रकृतिको संरक्षकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

दुई कार्यकाल वडाध्यक्ष बनेका वलीले सुक्खा क्षेत्रमा तालतलैया निर्माण अभियान सञ्चालन गरेर वर्षैभरि सिँचाइ हुने कृषि क्षेत्रमा रूपान्तरण गरिएको बताए । चैत महिनामै इनार सुक्ने र खेतीपाती हुन नसको ठाउहरु समेत सिंचित बनाएको उनको भनाई छ ।