
बंशीकुमार शर्मा
भारतको उत्तराखण्ड राज्यस्थित नैनीताल नजिकै रहेको कैंची धाम परमपूज्य बाबा नीम करौली महाराजको प्रसिद्ध आश्रम तथा हनुमान मन्दिर हो। बाबा नीम करौलीको दर्शन गर्ने इच्छा लामो समयदेखि थियो। अन्ततः बाबाको आशीर्वादले कार्तिक २७ गते शुक्रबार बिहान ७ बजे दाङको तुलसीपुरबाट चारदिने आध्यात्मिक यात्राको सुरुवात गरियो। म बंशीकुमार शर्मा, दिदी रम्भा आचार्य, भाइ नारायण शर्मा र बहिनी पविता सुवेदी गरी एउटै घरका चार दाजुभाइ तथा दिदीबहिनी तिहारको पर्सिपल्ट यात्रामा निस्कियौँ। मनमा अगाध श्रद्धा, दर्शनको उत्सुकता र नयाँ ठाउँको अनुभव गर्ने कौतूहल बोकेर सुरु भएको यो यात्रा केवल घुमफिरमा सीमित थिएन। कैंची धाम पुगेर बाबा नीम करौली महाराजको दर्शन गर्ने, उहाँको तपोभूमिमा केही समय बिताउने र आध्यात्मिक शान्तिको अनुभूति गर्ने हाम्रो मुख्य उद्देश्य थियो । तुलसीपुरबाट सानो गाडीमा यात्रा सुरु गर्दै बिहानको चिसो मौसमसँगै हामी नेपालगञ्ज हुँदै कन्चनपुर महेन्द्रनगरतर्फ लाग्यौँ। बाँकेको अगैयामा चिया–नास्ता गरेपछि बिहानको खाना बर्दिया टाइगर टपमा खायौँ। बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको प्राकृतिक वातावरण र वन्यजन्तुको सम्भावित दृश्यले यात्रालाई थप रोमाञ्चक बनाइरहेको थियो। त्यसपछि कर्णाली पुल हुँदै साँझ करिब ६ बजे महेन्द्रनगर पुग्यौँ।
भारत यात्राका लागि आवश्यक भारतीय रुपैयाँ सटही गरेर सीमातर्फ लाग्यौँ। नेपाल–भारत सीमासम्म पुग्न करिब एक घण्टाको यात्रा गर्नुपर्ने थियो। भाडाको अटो सीमाभन्दा करिब पाँच सय मिटर वरै रोकियो। त्यहाँबाट ओर्लिएर हामी पैदल चेकिङ पोस्टतर्फ अघि बढ्यौँ। सीमाक्षेत्रमा मोबाइलबाट तस्बिर खिचिरहेका दिदीबहिनीलाई भारतीय प्रहरीले रोके। सीमामा तस्बिर खिच्न निषेध रहेछ। लुकीछिपी केही तस्बिर कैद गर्ने प्रयास गरे पनि सुरक्षा सतर्कता निकै कडा देखिन्थ्यो। सीमा पार गर्नुअघि महाकाली नदीको दृश्यले हाम्रो ध्यान खिच्यो। नदीको पानीलाई बाँधमार्फत भारततर्फ मोडिएको देख्दा मनमा अनेक प्रश्न उब्जिए। महाकाली नदीमा रहेको शारदा ब्यारेज (वनबासा पुल) आसपासको दृश्य हेर्दा पानीको उपयोग, सीमा क्षेत्र र नदीसँग जोडिएका स्थानीय जीवनका विषय मनमा खेलिरहे।
सीमाक्षेत्रमा निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको रहेछ। तस्बिर खिच्न रोक्न भन्दै एक नेपालीले हामीलाई सचेत गराए। आवश्यक चेकिङ पूरा गरेर भारतीय भूमिमा प्रवेश गरेपछि दुई दिनका लागि भाडामा लिइएको गाडीबाट यात्रा अघि बढ्यो।
बनवासा, खटिमा, नानकमत्ता, सितारागन्ज, चोरगल्ली र काठगोदाम हुँदै भीमतालतर्फको यात्रा प्राकृतिक दृश्यले भरिएको थियो। सडकका दुवैतर्फ देखिने पहाड, हरियाली, बजार र बस्तीले यात्रालाई रमाइलो बनाइरहेको थियो। त्यसै दिन कैंची धाम जाने हाम्रो उत्सुकता निकै थियो। तर शनिवार र आइतवार दर्शनार्थीको अत्यधिक भीड हुने रहेछ। हामी भीमताल नजिक पुग्दा स्थानीय प्रशासनले त्यस दिन दर्शन गर्न सम्भव नभएको जानकारी दिँदै गाडीलाई नैनीतालतर्फ पठायो। त्यसैले कैंची धामको दर्शन भोलिपल्ट मात्र गर्ने योजना बनाएर हामी नैनीतालतर्फ लाग्यौँ।
यात्राका क्रममा नानक सागर, भीमताल र आसपासका प्राकृतिक दृश्यले मन लोभ्याइरहेका थिए। जहाँ सुन्दर दृश्य देखिन्थ्यो, त्यहाँ गाडी रोक्न र तस्बिर खिच्न मन लाग्थ्यो। उत्तराखण्डका पहाड, घुमाउरा सडक र हरियालीले यात्रा आफैँमा एउटा छुट्टै अनुभूति बनाइरहेको थियो।
नैनीताल समुद्र सतहबाट करिब दुई हजार मिटर उचाइमा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र हो। त्यहाँ पुग्दा सबैभन्दा पहिले आँखामा पर्ने नैनीतालको विशाल ताल हो। तालको वरिपरि व्यवस्थित बस्ती, होटल, पसल र पहाडका काखमा बनेका घरहरूले ठाउँलाई निकै आकर्षक बनाएका छन्। स्थानीय एक ब्यक्तीले नैनीतालको नामसँग जोडिएको पौराणिक कथा सुनाए। उनका अनुसार भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा सतीको आँखा यस क्षेत्रमा खसेको र त्यसैबाट नैनीतालको नामकरण भएको जनविश्वास छ। तालको किनारमा रहेको माँ नयनदेवी मन्दिरले यस क्षेत्रको धार्मिक महत्वलाई थप उजागर गरेको छ।
नैनीतालको विकास, सडक व्यवस्थापन, पर्यटन पूर्वाधार र व्यवस्थित बस्तीले हामीलाई प्रभावित बनायो। पहाडका चट्टान काटेर बनाइएका होटल तथा आवासीय संरचना, विद्यालय, सरकारी कार्यालय र पर्यटनसँग सम्बन्धित पूर्वाधारले यस क्षेत्रको व्यवस्थित विकास झल्काउँछन्। पर्यटकलाई आकर्षित गर्ने गरी यहाँको वातावरण, बजार र आवागमन व्यवस्थापन गरिएको देखिन्थ्यो । पहाडका बीचमा फैलिएको ताल, तालको किनारमा चहलपहल गरिरहेका पर्यटक, डुंगाको सयर र वरिपरिका हरिया पहाडले नैनीताललाई साँच्चिकै सुन्दर बनाएका छन्। स्थानीय डुंगाचालकले नैनीतालको साँझको दृश्य हेर्न आग्रह गरे। तर हाम्रो यात्रा छोटो भएकाले साँझको मनोरम दृश्य कैद गर्ने अवसर भने जुरेन । नैनीतालको आकर्षण केवल तालको दृश्यमा मात्र सीमित छैन। तालको किनारमा रहेको खुला क्षेत्र, बजार, डुंगा सयर, मन्दिर र पहाडको प्राकृतिक बनावटले पर्यटकलाई घण्टौँ रमाउन सक्ने वातावरण बनाएको छ।
हामीले टिकट लिएर दुईवटा डुंगामा तालको सयर ग¥यौँ। तालको पानीमा डुंगा चलाउँदै वरिपरिका पहाड, पहाडको तहमा बनेका घर र पानीमा प्रतिबिम्बित हरियाली नियाल्दा प्रकृतिको सौन्दर्य झनै खुलेर देखिन्थ्यो। डुंगाबाट तालको एक फन्को लगाउँदा पानीको शान्त सतह, पहाडको हरियाली र पर्यटकीय गतिविधिले मनलाई आनन्दित बनायो।
तालको किनारमा रहेको माँ नयनदेवीको मन्दिरमा पुगेर पूजा–अर्चना ग¥यौँ। यो मन्दिर शक्तिपीठका रूपमा प्रसिद्ध रहेछ। पौराणिक मान्यताअनुसार सतीदेवीको आँखा यस क्षेत्रमा खसेको विश्वास गरिन्छ। त्यसैले नयनदेवीको नामसँग जोडिएको यो स्थान धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। नैनीतालका गुफा, पार्क, लभर प्वाइन्ट, चिडियाखाना तथा अन्य पर्यटकीय स्थलहरू पनि प्रसिद्ध रहेछन्। समय अभावका कारण ती सबै ठाउँमा पुग्न भने सकेनौँ। प्रकृतिको सौन्दर्यसँगै पर्यटन विकास, व्यवस्थित संरचना र स्थानीय जीवनशैलीबारे बुझ्ने अवसर नैनीतालको भ्रमणले प्रदान ग¥यो।
तालको किनारमा बसेर केही समय प्रकृतिसँग एकाकार हुँदा मनमा अनौठो शान्ति अनुभूत भयो। पहाडको हरियाली, चिसो हावा र तालको निलो पानीले यात्राको थकान बिर्साइदियो। नैनीतालको प्राकृतिक सौन्दर्यलाई शब्दमा वर्णन गर्न कठिन छ। त्यहाँ पुगेपछि मात्रै प्रकृतिले मानिसलाई कति गहिरो रूपमा प्रभावित गर्न सक्छ भन्ने अनुभूति हुँदो रहेछ । नैनीतालको भ्रमणपछि हामी कैंची धामतर्फ लाग्यौँ। पहाडी सडक, घुम्ती र हरियालीले भरिएको यात्रा उत्तराखण्डको प्राकृतिक सौन्दर्यसँग नजिकिने अर्को अवसर थियो। नैनीतालबाट साँझ करिब ६ बजे भवाली पुग्यौँ। भवाली सानो तर व्यवस्थित बजार रहेछ। त्यहाँ एउटा गेस्ट हाउसमा दुईवटा कोठा बुक गरेर चिया खायौँ। बहिनी पविता र दिदी रम्भाले केही आवश्यक सामान किनमेल गर्नुभयो। बजार घुम्दै भोलिपल्ट बिहान सबेरै कैंची धाम पुग्ने योजना बनायौँ।
पहाड, हरियाली र शान्त वातावरणले घेरिएको भवाली बजार सहरको भीडभाडभन्दा निकै फरक लाग्यो। रात बिताउँदै गर्दा मनमा भोलि हुने दर्शनको उत्सुकता झन् बढिरहेको थियो। बिहान ४ः३० बजे उठेर कैंची धाम पुग्ने तयारी ग¥यौँ।
कैंची धाम: आस्था, श्रद्धा र आध्यात्मिक ऊर्जा
उत्तराखण्डका हरियाली पहाडहरूबीच अवस्थित कैंची धाम यस्तो पवित्र स्थल हो, जहाँ हरेक वर्ष हजारौँ मानिस दर्शनका लागि मात्र होइन, मानसिक शान्ति र आध्यात्मिक अनुभूतिको खोजीमा पुग्छन्। नैनीताल र अल्मोडाबीच रहेको यो आश्रम बाबा नीम करौली महाराजका कारण विश्वभर परिचित छ।
कैंची धामको स्थापना बाबा नीम करौली महाराजले सन् १९६२ मा गर्नुभएको मानिन्छ। त्यसपछि यहाँ हनुमान मन्दिर र आश्रम परिसर विस्तार हुँदै गयो। बाबा नीम करौली महाराजलाई उहाँका अनुयायीहरूले महान् सन्त, आध्यात्मिक गुरु र भगवान् हनुमानका परम भक्तका रूपमा श्रद्धापूर्वक सम्झन्छन्।
बाबासँग जोडिएका अनेकौँ कथा र अनुभव भक्तहरूबीच आज पनि सुनिन्छन्। मानिसहरू आफ्ना दुःख, समस्या, पारिवारिक चिन्ता र जीवनका अन्योल लिएर उहाँकहाँ पुग्थे। बाबा कहिलेकाहीँ थोरै शब्दमा यस्तो कुरा भन्नुहुन्थ्यो, जसले मानिसलाई जीवनको बाटो बुझ्न सहयोग पु¥याउँथ्यो भन्ने भक्तहरूको विश्वास छ।
कसैलाई परिवारको चिन्ता हुन्थ्यो, कसैलाई जीवनको बाटोबारे अन्योल, त कोही आध्यात्मिक शान्तिको खोजीमा यहाँ पुग्थे। बाबाका शिक्षासँग जोडिएका भक्तहरूको विश्वास थियो कि उहाँको जोड देखावटीपनमा नभई प्रेम, सेवा, समर्पण र भक्तिमा थियो।
यी अनुभवलाई मानिसहरूले आ–आफ्नै तरिकाले बुझ्छन्। कसैले यसलाई बाबाको आध्यात्मिक शक्ति मान्छन् भने कसैले व्यक्तिगत अनुभूति र आस्थाका रूपमा लिन्छन्। तर कैंची धाममा पुग्ने धेरै मानिसका लागि बाबाको जीवनशैली, उहाँले दिनुभएको शिक्षा र सेवा भाव नै श्रद्धाको मुख्य आधार बनेको देखिन्छ। मैले पनि बाबा नीम करौली महाराजको तपोभूमिमा पुगे पछि मनमा एक अद्भुत शान्ति, हृदयमा असीम श्रद्धा र आत्मामा अलौकिक ऊर्जाको स्पन्दन महसुस गरे।
हनुमान मन्दिर र बाबाको दर्शन
कैंची धाम परिसरमा रहेको हनुमान मन्दिर प्रमुख आकर्षणमध्ये एक हो। बाबा नीम करौली महाराजको भक्ति परम्परामा भगवान् हनुमान प्रेम, सेवा, समर्पण र शक्तिका प्रतीक मानिन्छन्। त्यसैले कैंची धाम पुग्ने श्रद्धालुहरू बाबाको दर्शनसँगै हनुमानजीको दर्शनलाई पनि यात्राको महत्वपुर्ण हिस्सा मान्छन्।
नीम करौली बाबा भगवान् हनुमानका परम भक्त हुनुहुन्थ्यो। उहाँले जटिल धार्मिक कर्मकाण्डभन्दा सरल जीवनशैली, प्रेम र मानव सेवामा जोड दिनुभयो। उहाँले सधै‘सबैलाई प्रेम गर, सबैको सेवा गर र सबैलाई भोजन गराऊ भन्नुहुन्थ्यो ।
समुद्री सतहबाट करिब १ हजार ५ सय मिटरको उचाइमा रहेको कैंची धाम साँघुरो पहाडी खोचमा अवस्थित छ। बाटोको एकातिर होटल, उपहार तथा प्रसाद बेच्ने पसलहरू छन् भने अर्कोतिर सानो नदी अविरल बगिरहेकी छिन । नदीको किनार र पहाडको प्राकृतिक बनावटले आश्रम परिसरलाई शान्त र आध्यात्मिक वातावरण प्रदान गरेको छ।

धाम प्रवेश गर्दा सुरुमा वैष्णवी देवीको मन्दिर, राम मन्दिर, शिवलिंग र हनुमानजीको मन्दिरमा हात जोड्दै अघि बढ्यौँ। त्यसपछि कम्बल ओढेर पलेटी कसेर बसेका बाबा नीम करौली महाराजको मूर्तिमा आँखा टक्क अडिए। उहाँको मूर्तिलाई हेर्दा मनमा श्रद्धा र शान्तिको अनुभूति भयो।
धाम परिसरमा सिद्धिमा र विन्ध्यवासिनी दुर्गा माताका मन्दिर पनि रहेछन्। मन्दिरहरूको दर्शन गर्दै परिसर परिक्रमा गर्दा भक्तहरूको श्रद्धा र भक्तिभाव स्पष्ट देखिन्थ्यो। धेरै श्रद्धालु हनुमान चालिसा पाठ गर्दै, हात जोड्दै र मौन भावमा दर्शन गरिरहेका थिए। हामीले पनि त्यहि गरौ ।
यहाँ प्रसादका रूपमा चना वितरण गरिँदो रहेछ। प्रसाद ग्रहण गर्दै दर्शन पूरा ग¥यौँ। कैंची धाममा दर्शनको व्यवस्था निकै अनुशासित र व्यवस्थित रहेछ। भीड भए पनि दर्शनका लागि लामो समय लाग्दैन। परिसरभित्र फोटो तथा भिडियो खिच्न अनुमति छैन। मूर्तिहरू छुन पाइँदैन र निश्चित दूरीबाट दर्शन गर्नुपर्ने व्यवस्था रहेछ। भक्तहरूले शान्त र अनुशासित रूपमा दर्शन गर्दै अघि बढ्ने व्यवस्था गरिएको छ।
कम्बल पनि बाबासँग जोडिएको विशेष प्रसादका रूपमा भक्तहरूले ल्याउने गरेको पाइन्छ। भक्तहरूले कम्बल भित्र लैजाने र मन्दिरका सहयोगीमार्फत मूर्तिमा स्पर्श गराएर पुनः आफैँलाई फिर्ता ल्याउने परम्परा रहेछ। यहाँ देखावटी पूजा सामग्री वा चढावाभन्दा श्रद्धा र समर्पणलाई महत्व दिइएको अनुभूति भयो।
कैंची धाममा अनुभूत आध्यात्मिक शान्ति
दर्शनपछि बाहिर आएर बाबासँग सम्बन्धित सामग्री किन्यौँ। नदीपारि बनाइएको विशेष स्थानमा बसेर हनुमान चालिसा पढ्ने, फोटो तथा भिडियो खिच्ने र केही समय शान्त वातावरणमा बिताउने अवसर मिल्यो। सन् १९६० को दशकमा आफ्नो जीवनको महत्वपूर्ण समय बिताउनुभएको बाबा नीम करौली महाराजले शरीर त्याग गर्नुभएको आधा शताब्दीभन्दा बढी समय भइसक्दा पनि उहाँप्रतिको श्रद्धा उत्तिकै बलियो देखिन्छ। कैंची धाममा भक्तहरूको भीड, अनुशासन, मौनता र समर्पणले उहाँको आध्यात्मिक प्रभाव आज पनि जीवित रहेको अनुभूति गराउँछ।
आखिर कैंची धाममा के छ, जसले हजारौँ मानिसलाई यहाँसम्म आकर्षित गर्छ? यसको उत्तर केवल मन्दिर, मूर्ति वा धार्मिक परम्परामा मात्र सीमित छैन। यहाँको सकारात्मक वातावरण, बाबाको जीवनदर्शन, प्रेम, सेवा र भक्तिको सन्देशले मानिसलाई आकर्षित गरेको देखिन्छ।
बाबा नीम करौली महाराजले आफ्ना जीवन र व्यवहारबाट सिकाउनुभएको सादगी, मानव सेवा र समर्पण नै उहाँप्रतिको श्रद्धाको आधार हो। उहाँका लिखित पुस्तक वा प्रवचनभन्दा उहाँसँग जोडिएका जीवनका अनुभव, अनुयायीहरूले सुनाउने कथाहरू र उहाँको जीवनशैलीले मानिसहरूलाई प्रभावित बनाएको पाइन्छ।
बाबासँग जोडिएका शिक्षामा सरल जीवन बिताउने, पैसाको पछि अनावश्यक रूपमा नदौडने, आफूले गरेको कामको अनावश्यक प्रचार नगर्ने, भोक र आवश्यकतामा परेका मानिसलाई सहयोग गर्ने तथा परिवार र कर्मबीच सन्तुलन कायम गर्ने सन्देश पाइन्छ। यी विचारले मानिसलाई जीवनका प्राथमिकता बुझ्न र आत्मचिन्तन गर्न प्रेरित गर्छन्।

कैंची धाम केवल एउटा तीर्थस्थल मात्र होइन, आस्था, विश्वास र समर्पणको जीवन्त अनुभूति हो। यहाँ पुग्दा मनमा शान्ति, हृदयमा श्रद्धा र आत्मामा सकारात्मक ऊर्जा अनुभूत हुन्छ। पहाडको शान्त वातावरण, नदीको अविरल प्रवाह, हनुमान चालिसाको गुञ्जन र भक्तहरूको समर्पणले धामको आध्यात्मिक महत्वलाई अझ गहिरो बनाउँछ।
कहिलेकाहीँ केही स्थानहरू घुम्नका लागि मात्र होइन, आत्मालाई महसुस गराउनका लागि बनेका हुन्छन्। कैंची धाम पनि त्यस्तै एउटा पवित्र अनुभूति भएको मैले महशुस गरे, जहाँ शब्दहरू मौन हुन्छन्, अहंकार विलीन हुन्छ र हृदयबाट एउटै भाव निस्कन्छ
जय श्रीराम! जय हनुमान! जय बाबा नीम करौली महाराज! जहाँ श्रद्धा छ, त्यहाँ शक्ति छ; जहाँ समर्पण छ, त्यहाँ कृपा छ। बाबा नीम करौली महाराजको तपोभूमि, साधना र भक्तिको पवित्र संगम कैंची धामले हाम्रो चारदिने यात्रालाई जीवनभर सम्झिरहने आध्यात्मिक अनुभव बनाइदियो।



लाइभदाङ । १४ मंसिर २०८३, आईतवार ०८:११ बजे