दशौँ राष्ट्रिय खेलकुद: दाङका माधव सुवेदीलाई स्वर्ण

दाङ,१३ मंसिर।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत शारीरिक सुगठन प्रतियोगितामा लुम्बिनी प्रदेशका माधव सुवेदीले स्वर्ण पदक जितेका छन्।
७० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सुवेदीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेका हुन। दाङ भालुबाङ निवासी सुवेदीको यो उपलब्धिले लुम्बिनी प्रदेशको खेलकुद क्षेत्रको विकास र हौसलामा योगदान पुगेको छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत शारीरिक सुगठन प्रतियोगिताको पदक तालिकामा गण्डकी प्रदेश चार स्वर्ण, एक रजत र तीन कांस्यसहित आठ पदक प्राप्त गरी पहिलो स्थानमा रहेको छ। नेपाल आर्मीले तीन स्वर्ण, पाँच रजत र दुई कांस्य गरी १० पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने बागमती प्रदेशले तीन स्वर्ण, दुई रजत र चार कांस्यसहित नौ पदक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ। सशस्त्र प्रहरी बल (एपीएफ) तीन स्वर्ण र एक रजत गरी चार पदकसहित चौथो स्थानमा छ।


लुम्बिनी प्रदेशले शारीरिक सुगठन प्रतियोगितामा दुई स्वर्ण, छ रजत र तीन कांस्य गरी कुल ११ पदक जितेको छ। कुल पदक संख्याका आधारमा लुम्बिनी पाँचौँ स्थानमा रहेको छ। नेपाल प्रहरीले दुई स्वर्ण, एक रजत र दुई कांस्य गरी पाँच पदकसहित छैटौँ स्थान हासिल गरेको छ। कोशी प्रदेशले एक स्वर्ण, एक रजत र एक कांस्य गरी तीन पदक जित्दै सातौँ स्थानमा रहेको छ।