ऋण चुक्ता भएपनि फुकुवा गर्न साग्रिला बैंकको आनाकानी

घोराही, ११ मंसिर ।
साङ्ग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज शाखाको लापरबाही र बेवास्ताका कारण एक जग्गाधनीले लामो समयदेखि सास्ती भोग्नुपरेको छ। ऋण चुक्ता भइसकेको र मालपोत कार्यालयले समेत जग्गा फुकुवाका लागि पत्राचार गरिसकेको अवस्थामा पनि बैंकले आवश्यक पत्र उपलब्ध नगराउँदा जग्गाधनी समस्यामा परेका हुन् ।

साविक बागेश्वरी डेभलपमेन्ट बैंक हालको साङ्ग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज शाखाबाट दिलिप थापाले आफूले बिक्री गरिसकेको जग्गाको दोहोरो स्रेस्ता कायम गरि सोही जग्गा धितो राखेर ऋण लिएका थिए । थापाले कृषि विकास बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंक दुवैबाट ऋण लिएका थिए। केही दिनअघि थापा स्वयं मालपोत कार्यालय घोराहीमा उपस्थित भएर आफूले बिक्री गरिसकेको जग्गाको भुलवश दोहोरो स्रेस्ता कायम भएकाले आफ्नो नाममा रहेको स्रेस्ता खारेज गरिदिन सनाखतसमेत गरेका थिए।

कृषि विकास बैंक घोराही शाखाले गत शुक्रबार नै मालपोत कार्यालय घोराहीलाई पत्राचार गर्दै उक्त जग्गा रोक्का राख्न आवश्यक नरहेको र फुकुवा गर्न अनुरोध गरेको थियो। कृषि विकास बैंकको पत्र प्राप्त भएपछि मालपोत कार्यालयले उक्त जग्गा फुकुवासमेत गरिसकेको छ।

तर, सोही प्रकृतिको पत्र साङ्ग्रिला डेभलपमेन्ट बैंकलाई पठाउँदा पनि बैंकले विभिन्न बहाना बनाउँदै जग्गा फुकुवाका लागि आवश्यक पत्र दिन अस्वीकार गरेको छ। बैंकमा पुरानो फाइल नभेटिएको र ऋणसमेत चुक्ता भइसकेको स्वीकार गरे पनि रोक्का रहेको जग्गा फुकुवाका लागि मालपोत कार्यालयलाई पत्राचार गर्न नसकिने जवाफ बैंकले दिएको जग्गाधनीको गुनासो छ।


साङ्ग्रिला डेभलपमेन्ट बैंक नेपालगञ्ज शाखाका म्यानेजर नागेश्वर गुप्ताले पुरानो जग्गासम्बन्धी फाइल नभेटिएकाले जग्गा फुकुवाका लागि मालपोत कार्यालय दाङलाई पत्र पठाउन नसक्ने जवाफ दिएका छन् । २०८२ असारबाट सुरु भएको स्रेस्ता हटाउने प्रक्रिया २०८३ मंसिरसम्म आइपुग्दा पनि टुंगिन सकेको छैन। यसबीचमा जग्गाधनीले अनावश्यक प्रशासनिक झन्झट र सास्ती भोग्नुपरेको छ।

जिल्ला अदालत दाङबाट समेत दिलिप थापाको नाममा देखिएको उक्त कित्ता नम्बरको जग्गा नरेश पाठक र अनिल थापाले थापासँगको लेनदेनसम्बन्धी मुद्दामा रोक्का गराएका कारण मालपोत कार्यालयले हालसम्म पूर्ण रूपमा फुकुवा गर्न नसकेको अवस्था रहेको छ।

२०५८ सालमा तत्कालीन माओवादीले घोराही कब्जा गर्ने क्रममा मालपोत कार्यालयमा आगजनी भएको थियो। सोही घटनापछि अभिलेख व्यवस्थापनमा देखिएका कमजोरीको फाइदा उठाउँदै थापाले आफूले बिक्री गरिसकेको जग्गा तत्कालीन गाविसबाट सिफारिस लिई मालपोत कार्यालयमा दोहोरो स्रेस्ता कायम गराएको बताइएको छ।

ऋण चुक्ता भइसकेको, सम्बन्धित व्यक्तिले दोहोरो स्रेस्ता कायम भएको विषयमा सनाखत गरिसकेको र अर्को बैंकले समेत फुकुवाका लागि पत्राचार गरिसकेको अवस्थामा साङ्ग्रिला डेभलपमेन्ट बैंकले आवश्यक प्रक्रिया अघि नबढाउँदा वास्तविक जग्गाधनीले कहिलेसम्म सास्ती भोग्नुपर्ने भन्ने प्रश्न उठेको छ।