तुलसीपुरमा ‘वाचा कि विकास ?’ शीर्षकमा सार्वजनिक संवाद हुने

तुलसीपुर, १२ मंसिर ।
एचआर मिडिया हाउस प्रालिको आयोजनामा दाङको तुलसीपुरमा ‘वाचा कि विकास ?’ शीर्षकमा विशेष सार्वजनिक संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। नागरिक र जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद स्थापित गराउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

सञ्चालक एच आर मगरका अनुसार स्थानीय तह तथा क्षेत्रका जनप्रतिनिधिहरूलाई नागरिकसामु उपस्थित गराई उनीहरूका कार्यप्रगतिको समीक्षा गर्न यो कार्यक्रम तय गरिएको हो । कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको दुरी कम गर्न सहयोग र्पुयाउने अपेक्षा गरिएको छ।


जनप्रतिनिधिहरूले निर्वाचित हुनुअघि जनतासमक्ष गरेका प्रतिबद्धता, निर्वाचित भइसकेपछि हालसम्म सम्पादन गरिएका कार्य, हासिल भएका उपलब्धिहरू तथा सम्पन्न हुन बाँकी रहेका योजना र चुनौतीका विषयमा नागरिकहरूसँग प्रत्यक्ष संवाद, छलफल र प्रश्नोत्तर हुनेछ ।