
दाङ, ११ मंसिर ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले परिवार नियोजन र प्रजनन् स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकारले आवस्यक नीति, वजेट र कार्यक्रम बनाउने बताउनु भएको छ । नेपाल परिवार नियोजन संघ दाङको आयोजना तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजनमा शुक्रवार भालुवाङमा भएको लुम्बिनी प्रदेशमा परिवार नियोजन र प्रजनन् स्वास्थ्यको अवस्था, चूनौति र समाधानका उपाय, विपतको समयमा यौन तथा प्रजनन् स्वास्थ्यको आवस्यकता विषयक कार्यशालालाई सम्वोधन गर्दै मन्त्री पुनले सरोकारवालाहरुको सुझावअनुसार सरकारले नीति, कार्यक्रम र बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रजनन् स्वास्थ्यका थुप्रै समस्याले अन्ततः मातृ मृत्युदर, शिशु मृत्युदर र लैंगिक हिंसाका घटनामा समेत वृद्धि भइरहेको उल्लेख गर्दै मन्त्री पुनले सरकार परिवार योजना र प्रजनन् स्वास्थ्यप्रति गम्भीर भएको बताउनुभयो । बालविवाह न्यूनिकरण गर्न प्रदेशका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्न थालेको उल्लेख गर्दै उहाँले नागरिकको सामाजिक, आर्थिक, साँस्कृतिक चेतनास्तर बढाउन कार्यक्रम तर्जुमा गरेको बताउनुभयो । ‘अहिले पनि अशिक्षाले विभिन्न समस्या उव्जाएको छ, सबैको चेतनास्तर एकै छैन, जहाँ अशिक्षा छ, समस्या छ, त्यहाँ सरकारले बुझाउने काम गर्छ’मन्त्री पुनले भन्नुभयो,–‘परिवार नियोजन र प्रजनन् स्वास्थ्यलाई प्रभावकारी बनाउन सजिलो छैन, चूनौति छ तर सरकारले काम गर्नुपर्छ । आज नभए भोली हुन्छ, भोली नभए पर्सी बुझ्छ । बुझाउने काम सरकारले गर्नुपर्छ । हामी गर्छौं ।’ उहाँले नयाँ पुस्तामा परिवार योजना र प्रजनन् स्वास्थ्यबारे खासै चासो नभएको उल्लेख गर्दै अनिच्छित गर्भधारणले आमा, बच्चा र सिंगो परिवार नै वर्वादीतर्फ गएकोि बताउनुभयो ।
कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले परिवार योजनामा ध्यान दिन नसक्दा नागरिकहरुले प्रजनन् स्वास्थ्य समस्या झेल्नु परेको उल्लेख गर्दै राज्यले उपलव्ध गराएका सेवा लिन सचेत हुनुपर्ने बताउनुभयो । उहाँले गर्भपतनलाई पनि परिवार नियोजनको साधनकारुपमा लिनु चिन्ताको विषय भन्दै सचिव श्रेष्ठले यसको न्यूनिकरण गर्न मन्त्रालयमात्र नभइ सबै सरोकारवालाहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । ‘तथ्याङकले मातृ शिशु मृत्यु दर, गर्भपतनको अवस्था अलि नाजुक नै देखाउछ लुम्बिनीको त्यो अलि पुरानो डाडा हो, मन्त्रालयकी सचिव श्रेष्ठले भन्नुभयो,–‘तर समस्या छ, चूनौति छ । थुप्रै सूचकमा धेरै सुधार भएका पनि छन । मुख्यकुरा सचेतना फैलाउन सकिएन कि रु भन्ने चूनौति हाम्रो सामु छ । सरकार, साझेदार संस्था र मुख्य गरी सञ्चार क्षेत्रले एकृकितरुपमा समस्या समाधानमा काम गर्नुपर्छ ।’ उहाँले विद्यालयमा यौन तथा प्रजनन शिक्षालाई स्तर र अवस्थाअनुसार पठनपाठनको व्यवस्था गर्नुपर्ने र शिक्षकहरुले पनि खुलेर परिवार नियोजनका साधन, यौन तथा प्रजनन् समस्या र सेवाबारे जानकारी गराउन सक्नुपर्ने बताउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले परिवार योजना र प्रजनन् स्वास्थ्य सेवा अझै आवस्यक परेका समुदायसम्म पु¥याउन नसकिएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य सेवालाई किशोर किशोरीमैत्री बनाउन जरुरी रहेको बताउनुभयो । खासगरी परिवार नियोजन संघ र सरकारी सेवा प्रदायक निकायमा किशोर किशोरीमैत्री थुप्रै पूर्वाधारको विकास गरिए पनि अझै पनि गोपनियताको समस्याले ढुक्कसँग सेवा लिन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले गोपनियता कायम गर्ने विश्वास किशोर किशोरीहरुमा जगाउन नसक्दा अवैधरुपमा गर्भपतन गराउनेजस्ता समस्याले ज्यानै जाने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले सेवाग्राहीको पहुँचमात्रै विस्तार गरेर नहुने भन्दै त्यसको गुणस्तर, गोपनियताको अनुगमन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङका स्वास्थ्य सल्लाहकार किशोर आचार्यले बालविवाह, अनिच्छित गर्भधारणले किशोरकिशोरीको प्रजनन् स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै किशोर किशोरीसम्म परिवार योजनाका साधनहरुको उपलव्धतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सचेतनाले नै धेरैजसो स्वास्थ्य समस्या न्यूनिकरण गर्न सकिने भन्दै निजी अस्पतालहरुलाई केवल उपचारात्मक भन्दा पनि प्रवद्र्धनात्मक कार्यमा पनि लगाउन जरुरी रहेको बताउनुभयो । पत्रकार प्रियास्मृति ढकालले विपदमा परिवार योजना र प्रजनन् स्वास्थ्य सेवाबारे सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले अपाङगता भएका व्यक्तिहरुको स्वास्थ्य सेवा प्रभावकारी र पहुँच वृद्धिमा सरकारको धारणा माग गर्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ दाङका अध्यक्ष मायाकुमारी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय स्वास्थ्य, सूचना महाशाखा प्रमुख नेत्र अर्यालले लुम्बिनी प्रदेशमा परिवार नियोजनको अवस्था, अस्थायी साधनको प्रयोग र यसको पहुँच विस्तार हुन नसक्दा बढेको मातृशिशु मृत्यु दर, अनिच्छित गर्भ र गर्भपतनलगायतको अवस्था जानकारी गराउनु भएको थियो भने परिवार नियोजन संघ र विपदमा परिवार योजना र प्रजनन् स्वास्थ्य सेवाको अवस्था र तयारीबारे नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रमुख शोकान्त न्यौपानेले जानकारी गराउनु भएको थियो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको विषयप्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङका प्रवन्ध निर्देशक वसन्त खनालले गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सामाजिक विकास समितिका सदस्यहरु, लैंगिक अल्पसंख्यकहरु, अपाङगता भएका व्यक्तिहरु तथा पत्रकारहरुको सहभागिता थियो ।



लाइभदाङ । १२ मंसिर २०८३, शुक्रबार १८:५३ बजे