राप्तीमा सम्पन्न १७औँ राष्ट्रपति रनिङ शिल्ड सर्वोदय मावि सिसहनियाँलाई

तुलबहादुर कवँर मगर
भालुबाङ, १२ मंसिर ।
दाङको राप्ती गाउँपालिकामा सम्पन्न १७औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँले जितेको छ।

शनिबार सम्पन्न प्रतियोगितामा गाउँपालिकाभित्रका ३२ विद्यालयलाई पछि पार्दै वडा नम्बर ५ सिसहनियाँस्थित सर्वोदय माध्यमिक विद्यालयले समग्र उपाधि हात पारेको हो।

सर्वोदयले १० स्वर्ण, ७ रजत र ८ कास्य गरी कुल २५ पदक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। त्यसैगरी ७ स्वर्ण, १ रजत र १ कास्य गरी ९ पदक प्राप्त गरेको सिरिन भ्याली पब्लिक स्कुल मौरीघाट दोस्रो भएको छ।

६ स्वर्ण, ७ रजत र १५ कास्य गरी कुल २८ पदक जितेको आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया तेस्रो हुँदा ५ स्वर्ण, २ रजत र ५ कास्य गरी १२ पदक प्राप्त गरेको शंकर माध्यमिक विद्यालय पिपरीले सान्त्वना स्थान हासिल गरेको छ।

यसैगरी मार्चपास प्रदर्शनतर्फ ६८ अंक प्राप्त गर्दै श्री माध्यमिक विद्यालय मौरीघाट प्रथम भएको छ। ६७ अंकसहित सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ दोस्रो, ६४ अंकसहित आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया तेस्रो र ६३ अंक प्राप्त गरेको पब्लिक एजुकेसन एकेडेमी लालमटिया सान्त्वना भएको छ।


प्रतियोगितामा विजयी विद्यालय तथा खेलाडीलाई गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरी, प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी र शिक्षा शाखा प्रमुख देवी मल्ललगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, ज्याभलिन थ्रो, हाईजम्प, सटपुट, लङजम्प, कबड्डी र तेक्वान्दोलगायतका खेल समावेश गरिएको थियो।

राप्ती गाउँपालिकाको आयोजना तथा आदर्श नमुना माध्यमिक विद्यालयको व्यवस्थापनमा मंसिर १० देखि १२ गतेसम्म तीन दिन प्रतियोगिता सञ्चालन भएको थियो।

आगामी वर्ष आयोजना हुने १८औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको जिम्मेवारी यस वर्षको विजेता सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँले पाएको छ।