गुरुकुलका विद्यार्थी गरे संजीवनि अस्पतालको अवलोकन

दाङ, ११ मंसिर ।
किताबी ज्ञानलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यले गुरुकुल एकेडेमी घोराहीका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले संजीवनी शिक्षण अस्पतालमा अवलोकन गरेका छन्। विज्ञान विषयअन्तर्गत ‘तरङ्ग र यसका उपयोगहरू’ सम्बन्धी पाठ्यवस्तुलाई व्यवहारिक रूपमा बुझ्ने उद्देश्यले गरिएको अवलोकनका क्रममा विद्यार्थीहरूले अस्पतालमा जडान गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण तथा प्रविधिबारे जानकारी लिएका हुन्।

गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेल र विद्यालय संयोजक तथा विषय शिक्षक भुवन आचार्यको नेतृत्वमा विद्यार्थीहरू अस्पताल पुगेका थिए। अवलोकनका क्रममा संजीवनी शिक्षण अस्पतालका प्रशासनिक अधिकृत सुशील रिजालको समन्वयमा रेडियोलोजी विभाग प्रमुख डा। बोम बीसीले विद्यार्थीहरूलाई तरङ्गको वैज्ञानिक सिद्धान्त, यसको प्रकृति र चिकित्सा क्षेत्रमा हुने प्रयोगबारे विस्तृत जानकारी गराउनुभएको थियो। डा। बीसीले अस्पतालमा प्रयोग हुने विभिन्न अत्याधुनिक मेसिनहरूको कार्यप्रणालीबारे जानकारी दिँदै ध्वनि तरङ्ग, अल्ट्रासाउन्ड तथा अन्य प्रविधिको माध्यमबाट मानव शरीरभित्रका अङ्गहरूको परीक्षण तथा रोग पहिचान गर्ने प्रक्रियाबारे विद्यार्थीहरूलाई बुझाउनुभएको थियो।


अवलोकनका क्रममा विद्यार्थीहरूले स्वास्थ्य परीक्षणमा प्रयोग हुने आधुनिक प्रविधि, उपकरणको उपयोगिता र विज्ञानले चिकित्सा क्षेत्रमा पुर्‍याएको योगदानलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेका थिए। यसले पाठ्यपुस्तकमा पढेका सैद्धान्तिक विषयलाई वास्तविक जीवनसँग जोडेर बुझ्न थप सहयोग पुगेको विद्यालयले जनाएको छ। शिक्षालाई कक्षाकोठाको सीमाभित्र मात्र सीमित नराखी प्रयोगात्मक, अनुसन्धानमूलक र अनुभवमा आधारित बनाउने उद्देश्यले गरिएको यस्तो शैक्षिक अवलोकनले विद्यार्थीमा वैज्ञानिक सोच, जिज्ञासा र व्यावहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।