भालुबाङ खानेपानी उपभोक्ता संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न

भालुबाङ, १२ मङ्सिर ।
भालुबाङ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हस्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष चन्द्रप्रकाश आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सचिव गोपाल चन्दले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलपति चौधरीको उपस्थिति रहेको थियो। अतिथिका रूपमा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष तथा घोराही खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष ध्रुव केसीलगायतले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि खेमराज ओलीले खानेपानी नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय भएकाले सरकार यसप्रति गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्य, शिक्षा र सडकजस्ता क्षेत्रमा नागरिकको प्रत्यक्ष लगानी अनिवार्य नगरिने भए पनि खानेपानी क्षेत्रमा भने उपभोक्ताले २० देखि ३० प्रतिशतसम्म लगानी गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, खानेपानी उपभोक्ताले विद्युत् महसुलमा समेत १३ प्रतिशत भ्याट तिर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले सरकारको नीतिप्रति प्रश्न उठाउनुभयो। उहाँले भन्नुभयो, “गुगल र भूगोलको वास्तविकता मिलाएर मात्रै देश बन्दैन। देशको विकास गर्न जनताको आवश्यकता, समस्या र वास्तविक अवस्थालाई बुझ्नुपर्छ।”

ओलीले उपभोक्ता संस्थाहरूले आफ्नै पहल, लगानी र मेहनतबाट खानेपानी आयोजना निर्माण तथा सञ्चालन गर्दै आएको बताउँदै संस्थाका कर्मचारीसमेत उपभोक्ताकै लगानीबाट पालिँदै आएको उल्लेख गर्नुभयो। सरकारले उपभोक्ता संस्थालाई कमजोर बनाउने होइन, अझ बलियो, पारदर्शी र व्यवस्थित बनाउने नीति लिनुपर्नेमा उहाँले जोड दिनुभयो।


त्यस्तै, विशिष्ट अतिथि राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलपति चौधरीले विगतका राजनीतिक दलहरूले केही गरेनन् भनेर मात्र टिप्पणी गर्नु उचित नहुने बताउनुभयो। विगतमा भएका काम र उपलब्धिकै आधारमा नयाँ दल तथा नेतृत्वले अवसर पाएको उहाँको भनाइ थियो।

यसैगरी, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष तथा घोराही खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष ध्रुव केसीले उपभोक्ताको मेहनत, लगानी र सक्रियताबाट निर्माण भएका संस्थाहरूलाई सरकारले उचित नीति तथा कार्यक्रममार्फत संरक्षण र प्रवर्द्धन गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो।

कार्यक्रममा वक्ताहरूले खानेपानी उपभोक्ता संस्थाको संस्थागत विकास, पारदर्शिता, सुशासन र दिगो व्यवस्थापनका लागि सरकार तथा उपभोक्ताबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।

साधारणसभा तथा अधिवेशनले संस्थाको आगामी कार्यदिशा, संस्थागत सुदृढीकरण र खानेपानी सेवाको प्रभावकारी सञ्चालनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।