नेकपाको उम्मेदवार: दाङ २ मा आचार्य, ३ मा मास्की

तुलसीपुर, २९ पुस ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दाङको दुई वटा निर्वाचन क्षेत्रकालागि उम्मेदवार टुंग्याएको छ । दाङ २ र ३ को उम्मेदवारी टुंग्याई सकेको छ । तर, दाङ १ को उम्मेदवारी भने टुंगिन सकेको छैन । दाङ १ मा मेटमणी चौधरी र कुलप्रसाद केसीले आफ्नो दावी नछोडेपछि उम्मेदवारी टुंग्याउन समस्या भएको हो । चौधरी सोही निर्वाचन क्षेत्रका बसोबासी हुन्, भने केसीले प्रदेश राजधानी दाङ ल्याउन महत्वपूर्ण भूमिका खेलेका ब्यक्ती हुन् । उनीहरु दुबैले आफ्नो दावी छोडेका छैनन् ।

दाङ २ मा आचार्य
नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.२ को उम्मेदवार निर्मल आचार्यलाई बनाउने भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेका आचार्यलाई दाङ २ को उम्मेदवार बनाउने भएको हो । सोही अनुसार पार्टीले उम्मेदवारी टुंगो लगाएको हो । उनी २०७० को संविधानसभाको निर्वाचनमा पनि पार्टीको तर्फबाट उम्मेदवार थिए । दाङ २ बाट यस अघि निर्वाचित रेखा शर्मासहित ७ जनाको नाम सिफारिश भएको थियो ।


दाङ ३ मा मास्की
नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की(राजेश)लाई बनाउने भएको छ । शुक्रबार उनको उम्मेदवारी टुंगिएको हो । उनी लुम्बिनी प्रदेशका अर्थमन्त्री हुन् । पार्टीका केन्द्रीय महाधिवेन आयोजक कमिटि सदस्य समेत रहेका उनले अर्थ मन्त्री हुँदा पश्चिम दाङलाई‘कर्णाली’ नभई समृद्ध दाङ बनाउनु पर्ने भनि अभियान समेत सञ्चालन गरेका थिए । उनी सहित दाङ बाट ८ जनाको नाम सिफारिश भएको थियो ।

क्षेत्र नंं.३ कमिटिले मास्कीको एकल नाम सिफारिश गरेको भएपनि जिल्लाले भने अन्य ७ जनाको नाम थपेर पठाएको थियो । मास्की हाल लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् । उनी जनयुद्धका डिभिजन कमाण्डर पनि हुन् । उनी तत्कालिन अबस्थामा सेनामा छोटो समयमा कमाण्डमा स्थापित भएका ब्यक्ती समेत हुन् । उनी दाङ बबई गाउँपालिका निवासी हुन् ।