दाङका दुई पालिकालाई जिल्ला सहकारी संघको २२ बुँदे ध्यानाकर्षण पत्र

दाङ, १५ फागुन ।
जिल्ला सहकारी संघ दाङले विभिन्न माग राखेर दाङका दुई गाउँपालकामा ध्यानाकर्षण पत्र बुझाएको छ । संघले पालिकामा सहकारी दर्ता र अनुगमनको कामलाई व्यवस्थित गरी सहकारी प्रवद्र्धन गर्न तत्कालिन र दिर्घकालिन २२ बुँदे सुझावसहित ध्यानार्कषणपत्र बुझाएको हो ।

संघले पालिकामा अलग्गै सहकारी शाखा स्थापना गर्नुपर्ने, कोपोमिसको माध्यमबाट अनुगमन गर्न सक्ने दक्ष जनशक्ति र कार्यालय व्यवस्थापन गर्नुपर्ने, सहकारी संस्थाको विवरण वडा र पालिकामास्तरमा अध्यावदिक गर्नुपर्ने, सहकारी संस्था संचालनका लागि क्षमता विकास तालिम संचालन गर्नुपर्ने, संघको आधिकारिक प्रतिनिधि संयोजक रहनेगरी पालिकास्तरको सहकारी संजाल गठन गर्नुपर्ने माग राखेको छ ।

यसैगरी पालिकाले संघ संगको सहकार्यमा सहकारी संस्थाको नियमित अनुगमन गर्नुपर्ने, सहकारीको सुदृढिकरणका लागि तालिम, अनुगमन र प्रवद्र्धनात्मक कामका लागि आवश्यक बजेठ व्यवस्थापन गर्नुपर्ने, सहकारी संस्थाको लेखा परिक्षण असोज मसान्तभित्र र साधारणसभा पुस मसान्तभित्र गर्नुपर्ने कानुनी व्यवस्थालाई कडाईका साथ लागु गर्न र निर्देशनको पालना नगर्ने सहकारीलाई दण्ड जरिवाना गर्नुपर्ने ध्यानाकर्षणपत्रमार्फत उल्लेख गरेको छ ।

यस्तै लगातार तीन वर्षसम्म लेखा परिक्षण र साधारण सभा नगर्ने सहकारीलाई एकिकरण वा दर्ता खारेजी गराउन पालिकाको ध्यानाकर्षण गरिएको छ । यस्तै सहकारी संस्थाको लेखा परिक्षणलाई एकरुपता ल्याउन पालिकाले लेखा परिक्षकको सुचिकृत गर्ने व्यवस्था गर्नुपर्ने, सुचिकृत लेखा परिक्षकलाई सहकारी संस्थाको लेखा परिक्षण अनुशिक्षण गर्ने, सुचिकृत र अनुशिक्षण गरेका लेखा परिक्षकबाट मात्रै लेखा परिक्षण गर्नका लागि पालिकाबाट लिनुपर्नेपर्ने व्यवस्था गर्नुपर्ने संघले पालिकाको ध्यानाकर्षण गराएको छ ।

यसैगरी पालिकामा दर्ता भएका सहकारीलाई सम्बन्धित विषयगत संघ र जिल्ला सहकारी संघमा आवद्ध गराउन पालिकाले निर्देशन दिनुपर्ने र आवद्ध नहुनेलाई लेखा परिक्षकको स्विकृत रोक्नुपर्ने ध्यानाकर्षण संघले गराएको छ । यस्तै सेवा, उत्पादन र बजारीकरणका लागि सहकारी संस्था र पालिकाको समन्वय हुनुपर्ने माग संघले राखेको छ ।

संघले स्थानीय सरकार पनि पालिकामा रहेका सहकारी संस्थाको संस्थागत सदस्य बनि सहकारी संस्थाबाटै कारोबार गर्नुपर्ने, वडा कार्यालय पनि सम्बन्धित वडामा रहेको सहकारीमा संस्थागत सदस्य बनेर सहकारीबाटै कारोबार गर्नुपर्ने, जेष्ठ नागरिकको सुरक्षा भत्ता सहकारीबाटै भुक्तानीको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

यस्तै दैनिक उपभोग्य वस्तुको खरिद बिक्रि, नागरिक अस्पताल, सहकारी विद्यालय, वित्तिय सेवा, सहकारी यातायात, सहकारी उद्योगजस्ता क्षेत्रमा स्थानीय सरकार र सहकारी संस्था सहकार्य गरी अघि बढ्नुपर्ने संघले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । यस्तै स्थानीय सरकारले सहकारीको माध्यमबाट महिला, कृषक, उत्पीडित वर्ग शसक्तिकरणका कार्यक्रम संचालन गर्नुपर्ने, हरेक वडामा निर्माण श्रमिकलाई संगठित गरी एक वार्ड, एक श्रमिक सहकारी निर्माण गर्ने र श्रमिक सदस्यलाई सहकारी र सिप सम्बन्धि प्रशिक्षण दिने, अहिले उपभोक्ता समितिबाट हुँदै आएका भौतिक विकासका काम सहकारीबाट गर्नुपर्ने संघले ध्यानाकर्षण गराएको छ ।

यस्तै पालिका सरकारले सहकारीको माध्यमबाट सामुदायिक विद्युत, सिंचाई , बजार, आवास र उत्पादनजस्ता कार्यको योजना बनाउनुपर्ने, व्यवस्थित विकास योजनामा एक टोल एक उत्पादनको अवधारणा ल्याउनुपर्ने, उत्पादनमा नागरिकलाई प्रेरित गर्नुपर्ने, उत्पादन पूर्वाधारको विकास गर्नुपर्ने र नागरिकका आवश्यकतालाई ध्यानमा राखी उत्पादनको योजना बनाउनुपर्ने, पालिका र सहकारीको समन्वयमा उत्पादित वस्तुको बजारीकरण गर्न पालिकालाई संघले ध्यानाकर्षण गरेको छ ।


यस्तै सहकारीबिचमा एकिकरणको योजना लागु गरी मेघा प्रकारका सहकारी बनाउनुपर्ने, नागरिकमा रहेको सिप , पूँजी, श्रम , साधनलाई एकिकृत गरी समाजवाद उन्मुख आर्थिक विकासका लागि सहकारी र सरकारको सहकार्यको अवधारणाको विकास गर्नुपर्ने संघले पालिका सरकार प्रमुखलाई ध्यानाकर्षण गरेको छ ।

संघले बबई गाउँपालिकामा अध्यक्ष कुल बहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । संघका अध्यक्ष हेमराज गोैतमले ध्यानाकर्षण पत्र गाउँपालिकाका अध्यक्ष खत्रीलाई हस्तान्तरण गर्नु भएको हो ।

त्यस अवसरमा जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले ध्यानाकर्षण पत्रमा भएका विषयबस्तुमा प्रस्तुतीकरण गर्नु भएको हो । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष खत्रीले देशको अहिलेको साझा बिषय आर्थिक संमृद्धि रहेको ब्यक्ति–ब्यक्ति संग रहेको श्रम र पूँजीको सामुहिकीकरणले सम्बृद्धिको यात्रामा जान सकिने बताउनुभयो ।

उहाँले सहकारीका माध्यमबाट आर्थिक विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका प्रशासन प्रमुख तेजेन्द्र घर्तिले संचालन गर्नु भएको कार्यक्रममा बबई गाउपालिकामा रहेका सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिको उपस्थिति रहेको थियो ।

त्यसैगरी संघले दंगिशरण गाउँपालिकामा गाउँपालिकामा अध्यक्ष शम्भु गिरीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । ध्यानाकर्षण पत्रको विषयबस्तुका सम्बन्धमा जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले प्रस्तुतीकरण पश्चात् संघका अध्यक्ष हेमराज गोैतमले गाउँपालिका अध्यक्ष गिरीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नु भएको होे ।

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष गिरीले दंगिशरण गाउँपालिको आर्थिक विकासमा सहकारी संस्थाहरूको योगदान उच्च रहने बताउदै ध्यानाकर्षण पत्रको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले सहकारीको विकासले मात्र नेपालको सन्दर्भमा आर्थिक विकास सम्भव भएको बताउनुभयो । त्यस अबसरमा उहाँले जिल्ला सहकारी संघले यस प्रकारको काम गरेर प्रसंसनिय काम गरेको बताउनुभयो ।

त्यस अवसरमा आर्थिक विकास संयोजक शुकलाल चोैधरी, सहकारी शाखा प्रमुख यादव डाँगी लगायत गाउँपालिकामा रहेका सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो भने जिल्ला सहकारी संघका सचिव भण्डारीले कार्यक्रम सहजीकरण गर्नुभएको हो ।

जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गोैतम, सचिव शुक्रराज भण्डारी , संचालक मणीकर्णा न्यौपाने, नेपाल कृषि सहकारी केन्द्रीय संघ लेखा समितिका सदस्य चिरञ्जीवी के.सी. र सहकारी अभियान्ता हेमन्त योगीको उपस्थिति दुवै पालिकामा ध्यानाकर्षणपत्र बुझाईएको हो ।