टनेल र जङ्गलबाट जन्मिएका पुरनका कविता

दाङ, २४ असोज ।
जनयुद्धको मैदानमा एउटै थालमा भात खाएका र दिनरात सँगै बिताएका सहयोद्धाहरू देवीलाल पुन, सञ्जय र अर्जुन लगायत धेरैजसो आज फोटोमा मात्र सीमित छन्। युद्धका कठिन दिनहरूमा गुफा, टनेल र घना जङ्गलभित्र योद्धाहरूमाझ वाचन गरिएका कविताहरू २० वर्षपछि सार्वजनिक मञ्चमा गुञ्जिँदा सर्जक पुरन शर्मा एकाएक अतीतको स्मृतिमा पुगे।

जनयुद्धका क्रममा झुबोडी, टनेल र जङ्गलका घेराभित्र योद्धा साथीहरूलाई सुनाइएका ती कविताहरू केवल साहित्य मात्र थिएनन्, ती त युद्ध मोर्चाका सहयोद्धाहरूका लागि ऊर्जाका स्रोत थिए। निराशाले घर फर्किन झोला तयार पारिसकेका कतिपय साथीहरू ती प्रेरणादायी कविता सुनेपछि पुनः क्रान्तिको यात्रामा फर्किएका अनुभूति पुरन व्यक्त गर्छन्।

दुई दशक पुराना ति कविताहरूले आज बारुदी यामु पुस्तकको रूपमा प्रकाशित भएर बजारमा आएको छ । आजको स्वाद वा शैली अनुकूल बनाउन उनले ती रचनामा कुनै काटछाट वा परिमार्जन गरेनन्। हिजोको सत्व नमरोस् र वर्ग सङ्घर्षको वास्तविक इतिहास जस्ताको तस्तै लिपिबद्ध रहोस्  भन्ने हेतुले पुराना कवितालाई उही मौलिक स्वरूपमा ल्याइएको उनी बताउँछन्।


अर्को कबिता संग्रह पनि बजारमा ल्याउने तयारी
कविता साहित्यको छिटो प्रभाव पार्ने माध्यम भए पनि युद्धका भोगाइ र दुःखका सम्पूर्ण यथार्थ उतार्न उनले १३ वटा प्रसङ्गमा आधारित संस्मरण सङ्ग्रह तयार पारेका छन्, जो हाल सम्पादनको अन्तिम चरणमा छ। यसलगत्तै उनी अर्को नयाँ कविता सङ्ग्रह पनि पाठकसम्म ल्याउने तयारीमा जुटिरहेका छन्।

नेतृत्वप्रति प्रश्न र आत्मसमीक्षा
विगतमा आफ्ना बुबाले अध्ययन र कमाइ छाडेर यता नलागू भन्दा नमानेको प्रसङ्ग सम्झँदै, आज आफू पनि बाबु बनेपछि बुबाको त्यो चिन्ता र भावना बुझ्न सकेको उनी स्वीकार गर्छन्। यद्यपि, तत्कालीन परिवेशमा क्रान्तिका लागि चालिएको कदम सही नै थियो भन्नेमा उनी आज पनि स्पष्ट छन्।

जुन पार्टी र नेतृत्वलाई पूर्ण विश्वास गरेर जीवन समर्पण गरियो, आज त्यही नेतृत्व र दिशाप्रति पुरनसँग अनगिन्ती प्रश्नहरू जीवित छन्। तर, केवल प्रश्न उठाउने मात्र नभई आफू पनि कतिपय ठाउँमा प्रश्नको जवाफ दिने दायित्वमा रहेको महसुस गर्दै उनी आन्दोलन र यात्राबारे निरन्तर समीक्षा गरिरहेका छन्।