
प्रिया स्मृती गजमेर
देउखुरी, १६ असोज ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, बाँकेको आयोजना तथा देउखुरी उद्योग वाणिज्य संघको सहकार्यमा लमहीमा व्यवसायीहरूसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
व्यवसाय सञ्चालनका क्रममा देखिने समस्या, उपभोक्ता अधिकार, बजार अनुगमन, व्यवसायीले पूरा गर्नुपर्ने कानूनी दायित्व तथा व्यवसायीलाई सरकारी निकायबाट उपलब्ध हुने सेवा सुविधाका विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रियामा व्यवसायी र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबीच नियमित समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । व्यवसायीले आफ्नो व्यवसाय कानुनअनुसार दर्ता तथा सञ्चालन गर्ने, मूल्यसूची राख्ने, बिल बिजक जारी गर्ने, गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने र उपभोक्ताको अधिकारको सम्मान गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
त्यसैगरी कार्यालयले व्यवसायीलाई प्रचलित कानून, उपभोक्ता अधिकार, व्यवसाय सञ्चालनका आवश्यक प्रक्रिया तथा बजार व्यवस्थापनसम्बन्धी विषयमा जानकारी तथा सहजीकरण गर्ने, व्यवसायीका समस्या सुन्ने र आवश्यक समन्वय गर्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, बाँकेका निमित्त कार्यालय प्रमुख सुशिला चलाउनेले अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले उठाएका विभिन्न प्रश्न तथा जिज्ञासामाथि कार्यालयका लोकेन्द्र बिसी र हरि चौधरीले प्रस्ट पार्नुभएको थियो ।
व्यवसायीले बजारमा देखिने समस्या, अनुगमनका क्रममा आउने चुनौती, उपभोक्ता संरक्षणसम्बन्धी कानूनी व्यवस्था तथा सरकारी निकायबाट अपेक्षित सहजीकरणका विषयमा जिज्ञासा राखेका थिए । कार्यालयका प्रतिनिधिहरूले व्यवसायीलाई कानूनी प्रावधानबारे जानकारी गराउँदै नियम पालना गरेर व्यवसाय सञ्चालन गर्दा व्यवसायी र उपभोक्ता दुवैको हित संरक्षण हुने बताएका थिए ।
कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कमल जंग सिंह ठकुरी, अध्यक्ष इश्वर प्रकाश श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शारदा सुवेदीलगायतले व्यवसायीका समस्या र बजार व्यवस्थापनका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
वक्ताहरूले व्यवसायीलाई केवल अनुगमन र कारबाहीको दृष्टिले मात्र नभई व्यवसाय प्रवर्द्धन र सहजीकरणको साझेदारका रूपमा सरकारी निकायले हेर्नुपर्नेमा जोड दिएका थिए । व्यवसायीले पनि आफ्नो जिम्मेवारी पूरा गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, बाँकेका नरेन्द्र विकले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण देउखुरी उद्योग वाणिज्य संघका महासचिव सुदीप पाण्डेले गर्नुभएको थियो ।
अन्तरक्रियाले व्यवसायी, उद्योग वाणिज्य संघ र सरकारी निकायबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नुका साथै व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे छलफल गर्ने अवसर प्रदान गरेको आयोजकको भनाई छ ।



लाइभदाङ । १६ आश्विन २०८३, शुक्रबार १८:१६ बजे