शाही कालमा त अदालतले न्याय दिएको थियो, अहिले झन डरै छैन: देउवा

दीपक बोहरा
दाङ, ०७ मंसिर ।
नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले शाही कालमा समेत न्याय दिएको भन्दै अहिले झन कुनै डर नभएको बताएका छन् । देउवा निकट काँग्रेसको देउखुरीमा भएको लुम्बिनी प्रदेश स्तरीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा गैरकानुनी रूपमा शाही आयोग गठन गरी आफूलाई कारागार पठाइएको घटनाको स्मरण गर्दै यस्तो बताए । ‘शाही आयोग गठन गरेर मलाई जेल हालिँदा मेरी पत्नी आरजुले भेट्न आउँदा मैले कम्तीमा पाँच वर्ष जेल बस्नुपर्छ कि भन्ने सोचेको थिएँ,’ देउवाले भने‘ तर तत्कालीन अवस्थामा सर्वोेच्च अदालतले साहसिक निर्णय गर्दै शाही आयोग खारेज गरेर मलाई न्याय दिएको थियो, अहिले झन डरै छैन ।’

उनले पञ्चायतकालमा समेत पटक–पटक तीन, पाँच र छ वर्षसम्म जेल जीवन बिताउनुपरेको तर हरेक पटक अदालतबाटै न्याय पाएको बताए । लोकतान्त्रिक पद्धतिमा नागरिकले न्याय पाउने अन्तिम र भरपर्दो थलो अदालत नै भएको बताउँदै उनले न्याय प्रणालीप्रति नेपालीको गहिरो आस्था र विश्वास रहेको धारणा व्यक्त गरे ।

साथै पार्टीको आन्तरिक अवस्थाबारे बोल्दै पूर्व सभापति देउवाले महाधिवेशन र निर्वाचनका बेला भएका कमजोरीहरूप्रति कडा असन्तोष व्यक्त गरे । पार्टीभित्र पारदर्शी प्रक्रिया बिना‘खल्तीबाट नाम निकालेर’ टिकट वितरण गर्दा काँग्रेसले चुनावमा ठूलो क्षति व्यहोर्नुपरेको उनको भनाइ थियो।‘सबैभन्दा ठूलो र बहुमतप्राप्त पार्टी काँग्रेसले यस्तो दुर्गति व्यहोर्नुपर्ने अवस्था कसरी आयो? यसको जिम्मेवारी कसले लिने?’ भन्दै देउवाले प्रश्न गरे ।


मनपरी ढङ्गले टिकट बाँड्दा प्रत्यक्षतर्फ हार व्यहोर्नुपरेको र समानुपातिकतर्फ समेत मुस्किलले सिट ल्याउनुपर्ने स्थिति बनेको भन्दै उनले यसबारे गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । आफ्नो भावी राजनीतिक यात्राबारे स्पष्ट पार्दै देउवाले मुलुकको प्रधानमन्त्री भइसकेकाले अब व्यक्तिगत रूपमा केही पाउने वा हासिल गर्ने चाहना नरहेको बताए । बाँकी जीवन मुलुक र जनताको सेवामा अर्पण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने‘ अब मेरो जीवनको एक मात्र लक्ष्य देशलाई दिने हो, लोकतन्त्रको रक्षा र संवद्र्धन गर्ने हो।’

उनले लोकतन्त्रका आधारभूत सिद्धान्तलाई कसैले पनि कमजोर बनाउन नसक्ने गरी एउटा सुदृढ र जीवन्त लोकतन्त्र को निर्माणमा जीवनपर्यन्त लागिरहने बताए । राजनीतिमा अनेकौँ चुनौती र जोखिम आउने भए पनि समावेशी लोकतन्त्र, राष्ट्रिय एकता र मुलुकको समग्र विकासका लागि आफू निरन्तर प्रतिबद्ध रहने देउवाले बताए ।