
दाङ, ५ मंसिर ।
विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भएको अवसरमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकारसँग आग्रह गरिएको छ ।
‘विस्तृत शान्ति सम्झौताको दुई दशकः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन पुनः आग्रह’ भन्ने नारासहित मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज शनिबार तुलसीपुरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो आग्रह गरेका हुन्।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति अमृत प्रसाद शर्माको सभापतित्व तथा नागरिक अगुवा एबम् प्रेस स्वतन्त्रता सेनानी टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै रेग्मीले शान्ति प्रक्रियालाई पूर्णता दिन नयाँ सरकारले विशेष पहल गर्नुपर्ने बताउनु भयो । उहाँले सङ्क्रमणकालीन न्यायको विषय लामो समयदेखि अल्झिएकाले पीडितलाई न्यायको अनुभूति हुने गरी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, खोजी पत्रकारिता गर्ने पत्रकारलाई जेल हाल्ने सरकारको कार्य निन्दनीय भएको टिप्पणी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहनप्रसाद धितालले सरकारले पटक पटक आयोग गठन हुने तर शान्ति प्रक्रियाको मुल मर्म अनुसार काम नभयकोमा चिन्ता ब्यक्त गर्नु भयो । हजुरबुवाको कृयामा बसेको समयमा आफ्नो बुवालाई तत्कालीन बिद्रोही पक्षबाट हत्या गरियको तर अहिले सम्म पनि न्याय नपायकोमा द्वन्द पीडित नवीन योगिले चिन्ता ब्यक्त गर्नु भयो । कार्यक्रममा मानव अधिकारकर्मी सुष्मा गिरि लामिछाने र संस्थाका पूर्व सभापति नवीनकुमार पोख्रेल , पत्रकार सरद रेग्मी, सल्लाहकार कोमल डि।सि।, पत्रकार नारायण खड्का, द्वन्द पीडितको तर्फबाट नवीन योगि लगाएतले शान्ति सम्झौताको मर्म अनुसार द्वन्द्वपीडितले न्याय पाउनुपर्ने बताउनुभयो । उहाँहरूले सत्य निरूपण, पीडितलाई न्याय तथा दोषीलाई जवाफदेही बनाउने प्रक्रियामा ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो।
सो अवसरमा मानव अधिकारकर्मी निर्मल नेपालीले ‘विस्तृत शान्ति सम्झौताको दुई दशकः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह’ विषयक अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो।
शाखा उपसभापति माधब बस्नेतको स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रमको सहजीकरण संस्थाका सचिव मधुसुदन गौतमले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरु, दण्द्दपिडित,पत्रकारहरुको उपस्थिति रहेको थियो ।।



लाइभदाङ । ६ मंसिर २०८३, शनिबार १३:०५ बजे