सल्यानमा ट्याक्टरबाट खसेर पुरुषको मृत्यु

सल्यान, ०६ मङ्सिर ।
सल्यानको छत्रेश्वरी गाउँपालिका र रोल्पाको त्रिवेणी गाउँपालिका सिमानामा पर्ने पोखरी भन्ने स्थानमा गए राति ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेबाट आफ्नै बारीमा उत्पादन भएको बन्दागोपी बिक्रीका लागि रा १ त ४६६१ नम्बरको ट्याक्टरमा दाङ लैजाँदै गर्दा उक्त ट्याक्टरबाट खसेर सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसे का वर्ष २८ का राजन भनेर चिनिने एकराज केसीको मृत्यु भएको हो ।


ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका केसीको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी चौकी कोइला रोल्पाका इन्चार्ज कर्णनाथ योगीले बताए । ट्याक्टरबाट बन्दागोभी राखेको बोरा खसेपछि हेर्दै गर्दा चालकसँगै बसेका केसी खसेका र उनको टाउकोमा गम्भीर चोट लागेर रगत बगेको उनले जानकारी गराए ।

उनका अनुसार कच्ची सडकमा तीव्र गतिका कारण खसेको बोरा हेर्दा केसी ट्याक्टरबाट खसेको जस्तो देखिएको छ । ट्याक्टर चालक अहिले फरार रहेका र खोजी भैरहेको उनको भनाइ छ । मृतकको लास प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको र पोष्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिने उनको भनाइ छ ।