दाङमा अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने भारतीय नागरिकसहित ५ जना पक्राउ

दाङ, ०५ मङ्सिर ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति १० बजे लमही नगरपालिका–५ रतोडाँडास्थित जसमिन होटल एण्ड लजको तेस्रो तलाको कोठा नम्बर २०३ मा अनलाइन जुवा तथा सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

तुलसीपुरस्थित इलाका प्रहरी कार्यालय र लमहीस्थित वडा प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मारेर अनलाइन जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा भारतको मध्यप्रदेश भोपाल निवासी २४ वर्षीय जसवन्त सिंह तोमर, भोपाल भानपुर निवासी २४ वर्षीय सत्यम राजपूत, भानपुरस्थित पिपल्स क्याम्पस क्षेत्रका २४ वर्षीय हर्ष सिंह उस्तारे, १७ वर्षीय राहुल चन्द्र, दाङ तुलसीपुर निवासी ३२ वर्षीय सागर राना रहेका छन्।


प्रहरीका अनुसार पक्राउ परेकाहरूले Dell कम्पनीको ल्यापटप, विभिन्न कम्पनीका स्मार्टफोन तथा कम्प्युटर मनिटर प्रयोग गरी KUSH777 र KUSHEXCH लगायतका एपमार्फत अनलाइन जुवा तथा सट्टेबाजी खेल्ने र खेलाउने कार्य गरिरहेको पाइएको छ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।